मुख्य समाचार

प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा पहुँचवालाको हालीमुहाली

जनकपुर । प्रदेश २ मा मुख्यमन्त्री राहत कोषको व्यापक दुरुपयोग भएको समाचार प्राप्त भएको छ । आसेपासे, पहुँचबाला र पदबाला ब्यक्तिहरूलाई आस्थाका आधारमा आर्थिक सहायता वितरण गरेको खुलासा भएको हो। आर्थिक सहायताको नाउँमा राज्यकोषको मनपरि तवरबाट दुरुपयोग गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री राहत कोषबाट उपचारको नाउँमा राज्यमन्त्रीदेखि प्रदेश सांसद तथा आसेपासे र पहुँच बालाले कम्तीमा १ लाख ५० हजारदेखि १७ लाखसम्म कुम्ल्याउ सफल भएका छन्।

निमुखा, गरिब, असहाय र विपन्नलाई राहत कोषबाट उपचारको नाउँमा रकम सहायता प्रदान गर्ने राहत दिने निर्देशिकामा उल्लेख हुँदाहुँदै पनि रकम वितरण निर्देशिकाको भावना र नियम विपरीत सहायताको नाउँमा खेलवाड गरिएको छ।

यसरी अनियमित तवरबाट कथित उपचारको नाउमा पूर्व भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल झाले दुई पटक गरी १७ लाख रुपैयाँ क्यान्सर उपचारको नाउँमा, प्रदेश सांसद रामकुमार यादवले ३ लाख, शिवचन्द्र चौधरीले ४ लाख ५० हजार रुपैयाँ अशोक यादवले २ लाख रुपैयाँ, भीमा यादवले रू १ लाख ५० हजार लिएको देखिन्छ।

आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धि निर्देशिका २०७६ अनुसार एक ब्यक्तिलाई बढीमा रू २५ हजार देखि रू ३ लाखसम्म आर्थिकरूपमा अति बिपन्न हुनुपर्नेलाई उपलब्ध गराउन सकिने ब्यवस्था हुँदाहुँदै पनि मनोमानी ढंगबाट सता टिकाउन खुश पारिएको देखिन्छ।

त्यतिमात्र कहाँ हो र मुख्यमन्त्री राहत कोषबाट विभिन्न गैर सरकारी संस्था, डेरी उद्योगलगायत पार्टी कार्यकर्तालाई खुशी पार्न दुरुपयोग समेत गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *