महोत्तरी । पिठ्यूँमा सातुसामल र एकसरो फेर्ने लुगाको पोको । नाङ्गा खुट्टाको हिँडाइ । मनवचनमा रामसीताप्रति भक्तिभाव र लगातार वाणीमा सीताराम सङ्कीर्तन १ मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको देखिने परिचय हो यो । फागुन औँशीका दिन शुरु भएर फागुन पूर्णिमामा समापन गरिने परम्पराको यो यात्रा मिथिलामा शनिबार प्रारम्भ भएको छ ।
के साधुसन्त, के रागीबैरागी र के गृहस्थ जीवनका नरनारी।।१ हजारौँको सहभागिताको १५ दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री यस अवधिभित्र सांसारिक काम, कुरा थन्क्याएर भजन कीर्तनमा लिप्त छन् । सीताराम।।।११ हजारौँका मुखबाट निस्कने एउटै आवाज, एउटै वाणी र एउटै लय । यात्राको दोस्रो दिन आज आइतबार रात्रिबासको गन्तव्य भारतको मधुवनी जिल्लामा पर्ने कल्याणेश्वर । आज सूर्योदयसँगै कति यात्री कल्याणेश्वर पुगी सकेका छन्, कति पहिलो दिनको रात्रिबास गरेको हनुमानगढी ९धनुषा० बाट पोकोपन्तरो मिलाउँदै हिँड्ने तरखरमा छन् । बिहानीको सूर्योदयको समयमै हनुमानगढीबाट कल्याणेश्वरसम्म अटुट मानवपङ्क्ति देखिँदो छ ।
बाटाभरि जता हेर्याे, भक्तजन नै भक्तजन १ जता सुन्यो, सीताराम नाम सङ्कीर्तन १ पन्ध्र दिने यस यात्रा दैनिक नभएर मोक्ष र परमार्थ कामनाको पारलौकिक अनुभूति हुने आफ्नो ८० वर्षे जीवनमा पाँचपटक यात्रा गरिसक्नुभएका महोत्तरीको भङ्गाहा–४ का छविलाल उपाध्याय बताउछन ।
मिथिलामा मिथिला परिक्रमा तीन प्रकारका रहेका मानिन्छन् । मिथिला माहात्म्यमा बृहत मिथिला , मिथिला माध्यमिकी र मिथिला अन्तगृह परिक्रमाको उल्लेख छ । समग्र पुरानो मिथिलाको परिक्रमा गरिने २६८ किलोमिटरको यस यात्राको प्रचलन अब हटिसकेको देखिन्छ । कोशी नदी किनारमा पवित्रस्नान गरेर भारतको सहर्सा जिल्लामा पर्ने सिंहेश्वरनाथबाट शुरुआत भएर गङ्गा किनारको सिमरियाघाट हुँदै पर्वतश्रेणीको परिक्रमा गरेर सिंहेश्वरनाथमै यात्रा समापन गरिने पूर्वपरम्परा अब देखिन छाडेको छ । प्राचीन मिथिलाका महोत्तरी, धनुषा र भारतको मधुवनी जिल्लाभित्र गरी १३३ किलोमिटरमा गरिने माध्यमिकी र प्राचीन जनकपुरधामको आठ किलोमिटर दूरीभित्र गरिने मिथिला अन्तगृह परिक्रमा भने अद्यावधि छँदैछ । अन्तगृहको एक दिने परिक्रमा फागुन पूर्णिमाका दिन बिहान गर्ने परम्परा छ ।
धनुषाको मिथिलाविहारी नगरपालिकाको ठेराकचुरीस्थित मिथिला विहारी मन्दिरबाट मिथिलाविहारी ९श्रीराम० को डोला ९डोली० अघि लगाएर माध्यमिकी परिक्रमा यात्रा फागुन औंशीका दिन शुरु गरिन्छ । यस यात्राका सहभागी जनकपुरधामस्थित अग्निकुण्ड मठ पुगेर किशोरीजी ९श्री सीताजी० को थपिएको डोलासमेत अघि लगाएर रामजानकी मन्दिरको प्रदक्षिणा गर्दै अघि बढेर पहिलो दिनको रात्रिबासका लागि धनुषा जिल्लाको हनुमाननगर पुग्छन् ।
यात्री तन्मयसाथ मन एकाग्र गर्दै सीताराम सङ्किर्तनमा लीन देखिन्छन् । श्रीराम र सीताजीको डोला जुनजुन बस्ती हुँदै अघि बढ्छ, त्यहाँ डोलाको दर्शन गर्ने श्रद्धालुको भीड लाग्छ । ‘बोलो, सियावर रामचन्द्रकी जय’ यात्रीको लयमा लय मिलाउँदै डोला दर्शन पुग्नेको भिडले ‘जय १ जय ११’ को स्वर मिसाउँछन् । “मन र वचनमा पवित्रता, सीतारामप्रति समर्पणभाव र मोक्षको कामना” यात्राको अभिष्ठ स्पष्ट पार्दै मिथिला संस्कृति र परम्पराका जानकार महोत्तरीकै बलवा नगरपालिका–९ धमौराका बासिन्दा ७० वर्षीय कामेश्वर झा भन्नुहुन्छ, “यो यात्रा शरीरले होइन, मनले पूरा हुन्छ ।”
माध्यमिकी परिक्रमाको सो यात्रामा पहिलो, नवौँ, १०औँ, ११औँ, १२औँ र १५ औँ अन्तिमरात०दिनका गरी धनुषामा छ रात्रि विश्रामस्थल छन् । यी हनुमानगढी, पर्वता, धनुषाधाम, सतोषर, औरही हर्षाहा र जनकपुरधाम हुन् । त्यसैगरी चौथो, पाँचौँ, छैठौँ, सातौँ र आठौँ दिनका गरी पाँच रात्रि विश्रामस्थल क्रमशः मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन महोत्तरीमा पर्दछन् । यसैगरी दोस्रो, तेस्रो, १३औँ र १४औँ दिनका गरी चार विश्रामस्थल क्रमशः कल्याणेश्वर ९कलना०, गिरिजास्थान, करुणा र बिसौल भारतको मधुवनी जिल्लामा पर्छन् ।
रात्रि विश्रामस्थलमा यात्रीको खानपिन, आवास, आकस्मिक उपचार र आइपर्ने समस्यामा सहयोग पु¥याउन स्थानीयस्तरमा समिति बनाइने परम्परा छ । नेपालतर्फका महोत्तरी र धनुषाका रात्रि विश्रामस्थलमा बृहतर जनकपुर क्षेत्र विकास कोष, सम्बन्धित स्थानीय तह, उद्योग वाणिज्य सङ्घ र अरु विभिन्न सामाजिक सङ्घसंस्थाले यस कार्यमा संयुक्त पहलकदमी लिँदै आएका छन् । अघि त्रेता युगमा जनकनन्दिनी जनककी छोरी सीता र अयोध्या ९कौशलराज्य० का राजा दशरथका पुत्र श्रीराम जनकपुरमा विवाह हुँदा दुलहा-दुलही ९बेहुला÷बेहुली० बनेका सम्झनास्वरुप राम सीताका प्रतिमा डोलीमा राखेर घुमाइने यात्राको एकपक्ष रहेको महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका मुख्य साधु रवीन्द्र दास वैष्णव बताउनुहुन्छ । हिन्दू परम्परामा राम सीतालाई विष्णु-लक्ष्मीका अवतार मानिन्छ । मङ्सिर शुक्ल पञ्चमीमा विवाह भएपछि अरु सबै अयोध्या फर्के पनि राम सीता भने जनकपुरमै रहेर फागुन शुक्लपक्षभरी मिथिलाका विभिन्न ठाउँको विहार गर्दै घुमेका विश्वासमा रामसीताको पदचाप पछ्याउँदै माध्यमिकी परिक्रमाको परम्परा बसेको वैष्णवको भनाइ छ ।
धनुषाको ठेराकचुरीबाट शुरु भएर हनुमानगढीको बासपछि दोस्रो दिन भारत प्रवेश गर्ने यो यात्रामा चौथो दिन महोत्तरी जिल्ला प्रवेश गरिन्छ । आठौँ दिनको रात्रि विश्रामपछि पुनःधनुषा प्रवेश गरिने यो यात्रा १३औँ दिन फेरि भारत पुग्छ । अनि १४औँ दिन भारतको बिसौल रात्रि विश्राम गरेपछि १५औँ दिनको रात्रि विश्रामका लागि यात्री जनकपुरधामस्थित बारहबिघा रङ्गभूमि मैदान पुग्छन् । अन्त्यमा १६ औँ दिन बिहान जनकपुरको अन्तगृह परिक्रमा गरेपछि माध्यमिकी यात्रा पूरा भएर होली ९फागु० पर्व मनाउने मैथिल परम्परा छ । परिक्रमामा नेपाल र भारतको गरी १३३ किलोमिटर दूरीमा पैदल यात्रा हुने गरेको छ ।
मिथिला माध्यमिकी परिक्रमाले नेपाल र भारत दुई देशबीचको सांस्कृतिक सम्बन्ध जीवन्त राख्नसँगै मिथिला सभ्यता र संस्कारलाई समृद्ध बनाउने र त्यसको अनुशरणका लागि प्रेरणा मिल्ने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउछन । परिक्रमाका क्रममा पुगिने सबै धार्मिकस्थल रामायणको विशेषता र रामसीताको वैवाहिक सम्बन्धसँग जोडिएका स्थानका रुपमा चिनिन्छन् । परिक्रमा अवधिभरि सहभागी यात्रुले चोखो खानेकुरा सात्विक भोजन खाने, लसुन, प्याज सेवन नगर्ने, खाली खुट्टा हिँड्ने, बिहानै उठेर नुहाइधुवाइ गरी भजन कीर्तनमा सहभागी हुनुपर्ने नियम छ ।
परिक्रमामा धार्मिक, जातिगत या अन्य कुनै पनि भेदभाव रहँदैन, परिक्रमा गर्ने भक्तालु समान र विशिष्ट मानिन्छन् । मिथिलाका तीन परिक्रमा ९बृहत्, माध्यमिकी र अन्तगृह० मध्ये कुनै परिक्रमा जीवनमा एकफेरा मात्र पनि निष्ठापूर्वक गरिएमा परमात्मा प्राप्त हुने र मोक्ष मिल्ने हिन्दू मैथिल जनविश्वास रहेको साधु सन्तको भनाइ छ ।




