मधेश प्रदेश

प्रदेशमा ३ सय ५६ किलोमिटर पक्की सडक निर्माण

जनकपुरधाम । प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३ सय ५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित वार्षिक प्रगतिसम्बन्धी पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

प्रदेशमा कालोपत्र सडक ५०.९५ किलोमिटर, पक्की सडक ढलान ७४.९० किलोमिटर र ग्राभेल सडक १७०.१७ किलोमिटर निर्माण सम्पन्न भएको जनाइएको छ । सोही क्रममा ३० वटा पुल निर्माणका क्रममा रहेको, ५.५४ किलोमिटर नाला, १४ वटा कल्भर्ट र ५९.८१ किलोमिटर नयाँ कच्ची सडक निर्माणकार्य सम्पन्न भएको छ ।

नीति तथा कार्यक्रममा रहेको १० वटा झोलुङ्गे पुलमध्ये तीनवटाको निर्माण कार्य सम्पन्न भएको छ । सिँचाइतर्फ १ सय ६५ वटा नहर प्रणालीको मर्मतसम्भार गरी पानी सञ्चालन, प्रदेशका आठवटै जिल्लामा दुई क्लस्टर सिँचाइअन्तर्गत पावर ड्रिल टयुबवेल निर्माणबाट प्रदेशका १६ हजार खेतीयोग्य जमीनमा सिँचाइ सुविधा प्रदान गरिने योजनाको शुरूआत गरिएको छ । सो अवधिमा २ सय ४० वटा डिप टयुबवेल तथा ३३ वटा पावर ड्रिल टयुबवेल निर्माण, प्रदेशका पाँच हजार ४ सय ३० हेक्टर थप जग्गाको सिञ्चित क्षेत्रफलमा वृद्धि भएको बताइएको छ । नदी कटान र डुबानबाट एक हजार ५ सय हेक्टर खेतीयोग्य जग्गा संरक्षण र २० वटा जोखिमयुक्त बस्तीलाई संरक्षण गरिएको छ ।

खानेपानीतर्फ २० वटा नयाँ खानेपानी योजनाको शुरूआत, ६५ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ । यस अवधिमा २६ धर्मशाला, नौ दलित छात्रावास र आठवटा ज्येष्ठ नागरिक आवास निर्माण सम्पन्न भएको बताइएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले यी उपलब्धि सार्वजनिक गर्दै जनता आवासतर्फ चार हजार ६ सय ५९ घर निर्माणको सम्झौता भएकोमा हालसम्म दुई हजार १ सय १ घर निर्माण भई हस्तान्तरण भइसकेको बताए ।

प्रदेश परिवहन सञ्चालन गरिने

प्रदेश नं २ सरकारद्वारा फागुन महिनाभित्रै प्रदेश परिवहन सञ्चालन गर्ने गृहकार्य भइरहेको छ । प्रदेश परिवहन सञ्चालनका लागि प्रदेश सरकारद्वारा तीन करोड नौ लाख ८२ हजारमा पाँचवटा बस खरीद गरिसकेको छ ।

पत्रकार सम्मेलनमा सोनलले प्रदेश परिवहन सञ्चालन सन्दर्भमा कार्यविधि निर्माण कार्य अन्तिम चरणमा रहेको बताए । उनले परिवहन सञ्चालक समिति गठन भइसकेपछि समितिले परिवहन सेवाको भाडा दर निर्धारण गर्ने बताउँदै सरल, सुलभ, सुरक्षित र व्यवस्थित रुपमा सञ्चालन गर्ने कुरामा ध्यान दिइनेछ बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *