काठमाडौं । सहरी विकासमन्त्री प्रभु साहले सडकमा हिँडेको मानिस नै आफ्नो गाडीमा ठक्कर खान आइपुग्दा सर्लाहीको हरिवनमा दुर्घटना भएको दाबी गरेका छन् । उनले आफ्नो गाडीले कसैलाई ठक्कर नदिएको दाबी गरेका छन् ।
साह सवार गाडीको ठक्करबाट पूर्व–पश्चिम राजमार्गको हरिवनमा लालबन्दी नगरपालिका–८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङलाई शनिबार दिउँसो ठक्कर दिएको थियो । तामाङ सख्त घाइते भएका छन् । तर, काठमाडौं आएपछि मन्त्री साहले केही नभएको भन्दै बचाउ गरेका छन् ।
मन्त्री सवार गाडीले हानेका तामाङको कम्मर र खुट्टामा चोट लागेको छ । उनको स्वाभिमान अस्पतालमा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए । ‘मान्छेलाई ठक्कर दिएर भागेको गाडी मन्त्रीज्यूकै रहेको खुल्यो,’ एक प्रहरीले भने ।
तर, साहले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरो यात्राबारे सम्पूर्ण जानकारी हुँदाहुँदै पनि नेपाल प्रहरीले मन्त्री प्रभु साहको गाडी खुलेको भन्ने भ्रमपूर्ण वक्तव्य दिन गैरजिम्मेवार रूपमा प्रस्तुत भएको दुःखद विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’
मन्त्री साह आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । उनको नाम यसअघि पर्साको वीरगन्जमा काशीनाथ तिवारीको हत्यामा जोडिएको थियो ।




