काठमाडौं । बालिका बलात्कार र हत्या विषय चर्कदै गएपछि बर्दिवासमा तनाब सिर्जना हुँदा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।
बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि बर्दिबासमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए । उनका अनुसार अहिल बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको गरिएको हो ।
निषेधाज्ञा बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका कायम गरिएको छ । मंगलबार बर्दिबासमा प्रर्दशन रोक्न सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको भएपछि स्थिति झन भड्किएको थियो । तिघ्रामा गोली लागि घाईते बर्दिबासका संजय भनिने बुद्धिराज न्यौपानेको बुद्यबार बिहान काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
न्यौपाने परिवारका अनुसार अत्याधिक रक्तश्रावका कारण उनको विहान १ बजे निधन भएको छ । महोत्तरीका प्रजिअ कटुवालले उपचारको क्रममा मृत्यु भएको बताएका छन् ।
सुरक्षाकर्मीको गोली प्रहारबाट घाइते उनको बर्दिबासस्थित पिनाकल हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएको थियो ।
सुरक्षाकर्मीको गोली लागेर घाइते भएका श्याम कार्कीको काठमाडौंमै उपचार भइरहेको छ। प्रदर्शनमा टाउको फुटेका अफताम आलमको बर्दिबासमा उपचार हुँदैछ ।
बर्दिबास १४ की ६ वर्षीय बालिका गुलाब शाह खातुनको बलात्कारपछि निर्मम हत्या गर्ने दोषीलाई कडा कारवाहीको माग गर्दै मंगलबार बर्दिबासमा भएको प्रदर्शन रोक्न सुरक्षाकर्मीले गोली चलाएको थियो ।




