महोत्तरी । महोत्तरी बर्दिबास–१४ की ६ वर्षीया बालिका बलात्कारपछि हत्याको विरोधमा मंगलबार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेका बुद्धिराज न्यौपानेको मृत्यु भएको छ । उपचारका क्रममा मंगलबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेका बर्दिवास १ का ४३ वर्षे न्यौपानेको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचार गर्न काठमाडौँ लगिएको थियो । काठमाडौँको ग्राण्डी अस्पतालमा उपचाररत उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
तीघ्रामा गोली लागेका उनको अत्यधिक रक्तस्रावबाट मृत्यु भएको स्थानीयले बताएका छन् । प्रदर्शनमा प्रहरीको गोली लागेका अफताब आलम र श्याम कार्कीको अवस्था पनि गम्भीर छ ।
आइतबार बेलुकादेखि बेपत्ता भएकी बालिकाको शव सोमबार राति घर नजिकै झाडीमा फेला परेपछि बर्दिबासमा आन्दोलन चर्किएको थियो। बालिका हत्याको आरोपमा २५ वर्षीय अरुण कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीयले प्रदर्शनका क्रममा आरोपीको घरसमेत जलाइदिएका छन् ।





