बर्दिबास । महोत्तरी बर्दिबास–१४ शुभम बस्तीकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर तीनजना घाइते भएका छन् ।
गोली लागेर बर्दिबास नगरपालिका– १ घर भएका सञ्जय न्यौपाने, श्याम कार्की र एकजना अर्का प्रदर्शनकारी घाइते भएका छन्। सञ्जयको तीघ्रमा गम्भीर चोट लागेको भने कार्कीको टाउको फुटेको जनाइएको छ। सञ्जयलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
अहिले बर्दिबास चोकमा मृतक बालिकाको शव राखेर प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीले आगो नियन्त्रण गर्न आएका दुईवटा दमकलमाथि तोडफोडसमेत गरेका छन् । हत्या आरोपीको घरसमेत प्रदर्शनकारीले जलाइदिएका छन् ।




