रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा एक युवतीको गोली हानी हत्या भएको छ । विवाहिता ती युवतीको कन्चटमा गोली हानी हत्या गरिएको छ । माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाकी रामअयोध्या साहको १७ वर्षीया छोरी अमृताकुमारी साहलाई बुधबार राति साढे ११ बजे गोली प्रहार गरिएको थियो ।
सुतिरहेको अवस्थामा टाउकोको दाहिने कन्चटमा गोली लागेपछि उनको घटनास्थलमै मृत्यु भएको हो । मृतक महिलाकी आमा सीतादेवी साह राति घरको ढोका खोली शौचालयतर्फ गएको मौका छोप्दै अज्ञात व्यक्ति घरमा प्रवेश गरेर अमृताको टाउकोमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
महिलाको प्रेम सम्बन्धका विषयमा भएको विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । अमृताको २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवन गोठका सोहन भन्ने रुपेश साहसँग मागी विवाह भएको थियो ।
अमृता घर गएको चौथो दिननै उनको श्रीमान रुपेशमाथि धारिलो चक्कु प्रहार भएको थियो । त्यसको ३ महिनापछि उनीहरुको सम्बन्धविच्छेद भएको थियो । घटनामा संलग्नको पहिचान भइसकेको र अनुसन्धान कार्य अगाडि बढेको प्रहरीले जनाएको छ ।




