कोशी प्रदेश

कोशी प्रदेश संसदीय समितिको निर्वाचन भोली, निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । कोशी प्रदेश संसदीय समितिको निर्वाचन भोलीदेखी सुरु हुँदैछ । कोशी प्रदेश सभा २१ महिनापछि हुन लागेको संसदीय समितिको निर्वाचनका लागि दलहरूले सभापतिको उम्मेदवार छनौट गरेर निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरिएको छ । कार्यतालिका अनुसार भोलीका लागि निर्वाचनको समय तोकिएको छ । उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने समय आज १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।

प्रदेशसभाको ७ वटै विषयगत समितिको सभापतिको उम्मेदवारको विषयमा निर्णय भइसकेको छ । कोशी प्रदेशसभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् ।

एमालेले आफ्नो भागमा परेका समितिहरूमा होमबहादुर थापा प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, कमला दर्नाल न्याय प्रशासन तथा विधायन समिति र रामदेव यादव उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दललका उपनेता हिमाल कार्कीका अनुसार काङ्ग्रेसले पाउने सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल र अर्थ समितिको सभापतिमा विनोद वान्तवा राईले उम्मेदवार छनोट हुनेछन् ।

माओवादीले पाउने सार्वजनिक लेखा समितिको सभापतिमा राजन किराँती उम्मेदवार रहेको माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले बताए । तीन दलले सहमति गरिसकेको कारण अन्य प्रतिस्पर्धी उम्मेदवार बन्ने सम्भावना नभएको उनको भनाइ छ ।

२०७९ मङ्सिर ४ गतेको निर्वाचनपछि प्रदेश सभाको पहिलो बैठक २०७९ पुस १७ गते बसेको थियो । २०८० कात्तिक २० गते संसदीय समिति सदस्य छनोट भइसकेको थियो तर लामो समयसम्म सभापतिको निर्वाचनको भएको थिएन् । दलहरुसँग सहमति जुटेसँगै भोली सो पदको निर्वाचन हुन लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *