कोशी प्रदेश

वन क्षेत्रमा अवैध उत्खनन गराएको आरोपमा पक्राउ परेका वडाध्यक्षलाई छुटाउन सिरहामा मेयरद्वारा चक्का जाम

काठमाडौं । सिरहा कमला नदी स्थित चुरे संरक्षित क्षेत्र र वन क्षेत्रमा अवैध उत्खनन गराएको आरोपमा पक्राउ पर्ने कर्जन्हा लिनगरपाका वडा नं. १ का वडाध्यक्ष फणीन्द्र पोखरेलाई थुनामुक्त गर्न दबाब बढेको छ । पोखरेललाई थुनामुक्तको मागसहित सिरहाको बन्दीपुरमा चक्का जाम गरिएको हो ।

कर्जनहा नगरपालिकाका मेयर भोला पोखरेलको नेतृत्वमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारिएको छ ।

राजमार्ग अवरुद्ध भएपछि हजारौ सवारी साधन संचालनमा असर परेको छ भने हजारौँ यात्रुहरु मारमा परेका छन् । मेयर पोखरेलले नेतृत्व गरेको समूहले कर्जन्हा नगरपालिका–१ स्थित इलाका वन कार्यालय बन्दीपुर घेराउ गरी कार्यालय खाली गर्न र कर्मचारीहरूलाई बाहिर निस्किन दबाब दिइरहेका छन् ।

वन कार्यालयका कर्मचारी र त्यहाँ रहेको हतियार समेत असुरक्षित भएपछि वन कार्यालयले जिल्ला प्रहरी कार्यालय सिरहासँग सुरक्षा माग गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले वन कार्यालयको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

उक्त विषयमा डिभिजनल वन कार्यालय लहानका प्रमुख सुजित कुमार झासँग सम्पर्क गर्दा उनले भने कानुन बमोजिम अनुसन्धान तथा तहकिकातका लागि थुनामा रहेका वडाध्यक्षलाई थुनामुक्त गर्न मेयरले उत्तेजना बढाउने गलत बाटो अख्तियार गरेको बताए । ‘दबाब दिएर गैर कानुनी रूपमा वन कार्यालयलाई निस्तेज पार्ने प्रयास भइरहेको छ,’ झाले भने, ‘बन्दीपुर स्थित इलाका वन कार्यालयमा तोडफोड गर्ने सरकारी कार्यालय खाली गराउने तथा कर्मचारीहरूलाई असुरक्षित बनाउने कार्य भइरहेको छ ।’

सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले भने, ‘डीएफओले अधिकार क्षेत्र नाघेर वडाध्यक्षलाई थुनेकोले स्थिति बिग्रेको जनाएका छन् । उनले भने,‘वनलाई वन क्षेत्रको मुद्दा हेर्ने अधिकार मात्र छ । निजी जग्गाको मुद्दा नगरपालिका आफैले हेर्छ । शान्ति सुरक्षाको व्यवस्था मिलाएका छौँ । वन कार्यालयले वडाध्यक्ष पोखरेललाई तुरुन्त रिहा गर्नुपर्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *