काठमाडौं । दसैँको बेला हुने अपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षाका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशभरि ‘चाडपर्व लक्षित सुरक्षा योजना’ लागू गरेको जनाएको छ । प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर लागू गरेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले सम्भावित आपराधिक घटना तथा गतिविधिको पूर्व पहिचान गरी त्यसै अनुरूप सुरक्षा रणनीति अपनाइएको बताए । कोशी प्रदेशका सबै जिल्लामा गरेर ७ हजार ५ सय ५६ प्रहरी परिचालन गरिएको उनले बताए । धेरै भीड हुने तथा यात्रुको धेरै आवागमन हुने कोशी प्रदेशको २८ स्थानमा ‘यात्रु सहायता कक्ष’ को स्थापना गरिएको छ । यात्रु सहायता कक्षमा २४ सै घण्टा प्रहरी उपलब्ध हुने बताइएको छ । समस्यामा परेको कुनै पनि यात्रुले प्रहरीको सहयोग लिन सक्ने प्रहरीले जनाएको छ ।
चाडबाडको समयमा बढी मात्रामा चोरी, लुटपाट, आपराधिक क्रियाकलाप, जबरजस्ती चन्दा सङ्कलन, सवारी दुर्घटना, यात्रुलाई हैरानी, यात्रु तथा उपभोक्ता ठगिने, तस्करी जस्ता घटना हुनसक्ने प्रहरीको आङ्कलन छ ।
प्रहरीले सर्वसाधारणको घर, सम्पत्ति रहेको स्थान, विशिष्ट व्यक्ति, महत्त्वपूर्ण प्रतिष्ठान, मठ मन्दिर, गुम्बा रहेको स्थान, वित्तीय संस्था, आर्थिक कारोबार हुने स्थान, यातायात सञ्चालन हुने स्थान, व्यापारिक कारोबार (किनबेच) हुने स्थान, सरकारी कार्यालय तथा अन्य सरकारी सम्पत्ति रहेका स्थान, नाका, होटेल, गेस्ट हाउस तथा रेस्टुरेन्ट, नियमित आपराधिक गतिविधि हुने स्थान, राजमार्ग तथा ग्रामीण बस्ती र भिआइपीको मुभमेन्ट हुने स्थानमा बढी अपराध हुन सक्ने भन्दै सुरक्षा सतर्कता र निगरानी बढाएको जनाएको छ ।
‘गल्लीमा प्रहरीमा नपुग्ने र त्यस्ता ठाउँमा अपराध हुने गरेकाले पैदल गस्तीको व्यवस्था गरिएको र टोलीले मोटरसाइकल, साइकलसमेत जान नसक्ने गल्लीमा गस्ती गर्नेछन्’, डिआइजी बास्तोलाले भने । बर्दीका प्रहरी देखेपछि आपराधिक गतिविधि गर्ने व्यक्ति भाग्न सक्ने भन्दै प्रहरीले सादा पोशाकका प्रहरी पनि उल्लेख्य परिचालन गरेको छ ।
अपराध भइहाले पनि अपराधी उम्कन नदिन एम्बुसिङ र निगरानी गरी विशेष सर्चको व्यवस्था गरिएको छ । स्ट्राइकिङ टोली पनि गठन गरिएको उनले बताए । जसले चोरी, डकैती र कुनै पनि अपराध भएको खबर पाउनासाथ घटनास्थल पुग्नेछ । हतियारसहितका क्विक रेस्पोन्स टिम (क्युआरटी)बनाइएको छ । झैझगडा, लुटपाट जस्ता अपराध भएको खबर पाउनासाथ हतियारसहितको क्युआरटी टिम घटनास्थल पुग्ने व्यवस्था मिलाइएको बताइएको छ ।
यता, विराटनगर रानीस्थित सीमा नाकामा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरेको छ । ‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तरगत नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी असोज १९ गतेबाट दैनिकरुपमा सीमावर्ती इलाकामा तालिम प्राप्त कुकुरसहित थप कडाइका साथ चेकजाँच सुरु गरिएको डिआइजी बास्तोलाले बताए ।
नाकाबाट भित्रिने र बाहिरिने क्रममा कुकुर गस्तीमार्फत कडा जाँच गरिने प्रहरीले जनाएको छ । तिहारमा पटका भित्रिन सक्ने भएकाले नाकामा थप कडाइ आवश्यक परेको प्रहरीले जनाएको छ ।




