काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाई आज पनि फैसला हुन सकेन । निवेदकको तर्फबाट जवाफी बहस बाँकी रहेकाले सुनुवाइ हेर्दाहर्दैमा सिमित बन्न पुगेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापामाथि नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमाथि मंगलबार विपक्षीका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए । विपक्षीका तर्फबाट बहस सकिएपछि निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । बुधबार सार्वजनिक विदा परेका कारण बिहिबार मात्र सुनुवाई हुनेछ ।
सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्णइजलासमा सोमबारबाट पुर्ण इजलासमा सुनुवाई जारी राखेका छन् । सोमबार निवेदकका तर्फबाट बहस भएको थियो ।




