कोशी प्रदेश

ओखलढुङ्गामा राहत तथा स्वास्थ्य सामग्री वितरण

ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका–२ घर भई हाल राजधानी काठमाडौँ बसोबास गर्दै आएका युवाहरुले सहयोग सङ्कलन गरी गाउँमा राहत तथा स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

सामाजिक कार्यमा संलग्न युवाहरुले सामाजिक सञ्जालमार्फत सहयोग रकम सङ्कलन गरी तीन लाख बराबरको स्वास्थ्य तथा राहत सामग्री गाउँमा ल्याई हिजो र आज वितरण गरेका हुन् ।

उनीहरुले १०० बोरा चामल, १०३ प्याकेट नुन, १०० प्याकेट खाने तेल, तीन सेट अक्सिजनसहित सिलिण्डर, सात हजार प्रतिमास्क, स्यानिटाइजर, डिजिटल थर्मोमिटर, अक्सिमिटरलगायत सामग्री गाउँको स्वास्थ्य चौकी, इलाका प्रहरी कार्यालय र स्थानीय घरघरमा वितरण गरेको रामपुर युवा सञ्जालका अर्जुन दाहालले बताए ।

अक्सिजनसहितको सिलिण्डर सेट रामपुरको स्वास्थ्य चौकीलाई प्रदान गरिने भन्दै अर्का युवा विक्रम दाहालले कोरोना महामारीको समयमा गाउँमा राहत तथा स्वास्थ्य सामग्री वितरण गर्नका लागि राजनीतिक नेता, कार्यकर्ता, समाजसेवी, शिक्षक र युवाहरुले सहयोग गरेको बताए। चामल, नुन, तेल भने विपन्न परिवारलाई प्रदान गरिएको छ ।

स्थानीयवासी इन्द्र कार्कीले कोरोना महामारीले सबै काम ठप्प भएका बेला युवाहरुको सक्रियतामा सहयोग सङ्कलन गरी गाउँमा वितरण गरेकामा उनीहरुलाई धन्यवाद दिए।

ओखलढुङ्गा जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ८७ र मृतकको सङ्ख्या आठ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *