कोशी प्रदेश

प्रदेश १ मा शेरधन राईविरुद्ध उभियो कांग्रेस, प्रदेश स्थापना दिवस बहिष्कार

काठमाडौं । नेपाली कांग्रेस पहिलोपल्ट प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध उभिएको छ । राईकै निर्देशनमा प्रदेश सभा बैठक अवरुद्ध गरेपछि कांग्रेस उनीसँग चिढिएको हो ।

कांग्रेसले प्रदेश १ को स्थापना दिवस कार्यक्रमसमेत बहिष्कार गरेर उनीविरुद्ध प्रदेश सभामा दर्ता अविश्वासको प्रस्तावमा नेकपा प्रचण्डण्माधव समूहलाई सहयोग गर्ने संकेत दिएको छ ।

सोमवार प्रदेश १ को तेस्रो वार्षिकोत्सवमा प्रचण्ड माधव खेमाले अघोषित रुपमा कार्यक्रम बहिष्कार गर्दा कांग्रेसका शीर्ष तहका नेताहरु सहभागी भएनन् । कांग्रेसका प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्कीसहितका नेता सहभागी नभएको कार्यक्रममा कांग्रेसका प्रदेश सांसद विन्दिया कार्की मात्रै सहभागी थिइन् ।

तेस्रो वार्षिकोत्सव कार्यक्रममा प्रचण्ड–माधव खेमाका कुनै पनि सांसद तथा नेता सहभागी भएनन् । तत्कालीन आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले वैधता सकिएको सरकारले आयोजना गरेको कार्यक्रममा जानुको कुनै अर्थ नभएकोले कार्यक्रममा सहभागी नभएको प्रतिक्रिया दिए ।


आफुहरुले सरकार विरुद्ध अविश्वासको प्रस्ताव राखेको तर संसदीय मूल्य र मान्यता विपरित सरकारले त्यसलाई छल्दै हिंडेका कारण सरकारको वैधता सकिएकाले कार्यक्रममा नगएकोे आङ्बोले जानकारी दिए ।

कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले दुईवटा कारण सहित बार्षिक उत्सव कार्यक्रममा सहभागिता नजनाएको बताए । ‘सरकारले संसद छलिरहेको, यो संसदीय मूल्य र मान्यता विपरित हो,’ कार्यक्रममा नजानुको पहिलो कारण त्यो हो,’ कार्कीले भने । संसद विघटनविरुद्ध कांग्रेसले सोमवार गर्न लागेको देशव्यापी प्रर्दशनको तयारीका कारण पनि आफुहरु त्यो कार्यक्रममा सहभागी हुन नसकेको कार्कीले दोस्रो कारण खुलाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *