काठमाडौं । प्रतिनिधिसभा विघटनको बाछिटा प्रदेश सरकारमा पनि पर्न थालेको छ । शुक्रबार मात्रै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
अब प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याइने भएको छ । मुख्यमन्त्री राईले शनिबार अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेपछि उनको पद धरापमा पर्न थालेको हो । जसअनुसार प्रदेश १ सरकारका तीन मन्त्रीले आइतबार राजीनामा दिएका छन्।
नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर तीन मन्त्रीले आइतबार बिहान राजीनामा दिएका हुन्। सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका छन्।
मुख्यमन्त्री राईविरुद्ध आज बिहाज १० बजे अविश्वासको प्रस्ताव दर्ता गरिने भएको छ । केन्द्रमा पार्टी विभाजन भएपछि यसको असर प्रदेशमा देखिएको हो। मुख्यमन्त्री राई प्रधानमन्त्रीसमेत रहेका केपी ओली समूहका हुन्।
राईविरुद्ध अश्विासको प्रस्ताव दर्ता गर्दै स्थायी समिति सदस्यसमेत रहेका सांसद भीम आचार्यलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्ने तयारी प्रचण्ड नेपाल समूहले गरेको छ।
९३ सदस्यीय प्रदेश १ को प्रदेश सभामा पूर्व एमालेतर्फका ५१ जना सांसद छन् भने पूर्वमाओवादीतर्फका १६ जना छन्। काङ्ग्रेसको २१ र साना दलका पाँच सांसद छन्। पार्टी विभाजनपछि ६७ मध्ये ओली पक्षमा २० सांसद खुलेका छन्।





