काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकार नढल्ने बताएका छन् । सोमबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका घुन्सामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता आउला भन्ने चिन्तामा रहेकाले सरकार ढल्छ भनेर हल्ला फैलाएको बताए ।
उनले आफ्नै पार्टी अध्यक्ष प्रचण्डप्रति संकेत गर्दै ‘देशको प्रगति हेरेर तर्सिएका केही केही मान्छेलाई देशमा स्थिरता आउला भन्ने चिन्ता’ रहेको बताए ।
‘सरकार चलाइरहेको पार्टीभित्र अनेक प्रकारका कहिले पार्टी अध्यक्षका विरुद्ध, कहिले प्रधानमन्त्रीका विरुद्ध, कहिले लिखित, कहिले छापेर सरकार ढलिहाल्छ भनेर प्रचार गरेको पाइन्छ, उनीहरु देशमा स्थिरता आउला भनेर आत्तिएका छन्,’ प्रधानमन्त्रीले भने ।
ओलीले लिम्पियाधुरा, लिपुलेक जस्ता जमिन आफ्नो सरकारले फिर्ता ल्याउने दोहो¥याए । ‘केही केही मान्छेहरु, देशलाई स्थिरतामा जान नदिन खोज्ने मान्छेहरु, देशको स्थिरता नचाहने मान्छेहरु, देशको प्रगति हरेर तर्सिएका मान्छेहरु आत्तिएका छन्,’ उनले भने ।




