काठमाडौं । केपी शर्मा ओली आज आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा चुनावी अभियानलाई तीव्र बनाउँदै दमक र गौरीगञ्जका मतदातासँग प्रत्यक्ष भेटघाटमा जुट्दै छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष समेत रहेका ओलीले बिहान ९:३० बजे दमक–९ स्थित एक चिया पसलबाट मतदाता भेटघाट कार्यक्रम सुरु गर्ने कार्यतालिका छ। त्यसपछि उनको मुख्य ध्यान दक्षिणी क्षेत्र गौरीगञ्जमा केन्द्रित रहने बताइएको छ।
पार्टीका झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार गौरीगञ्जमा करिब सात घण्टासम्म चल्ने कार्यक्रममा ओलीले १२ भन्दा बढी टोलका मतदातासँग भेटघाट गर्नेछन्। बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने कार्यक्रममा श्यामा टोली, हरिरा, माथिल्लो दिनाभद्री, अल्ताबारी, दुर्गा मन्दिर, नयाँ बजार, बाह्रशुद्धी, लतिझुला, भवानीपुर, हुक्कागाछी, बगुवातेलकानी, ठेकीटोला र तेलकानी लगायतका क्षेत्र समेटिएका छन्।
यसअघि पनि सो क्षेत्रका मतदातासँग अन्तरक्रिया गरिसकेका ओलीले आजको कार्यक्रममा स्थानीय समस्या, गुनासा र सुझाव सुन्ने तथा समाधानका लागि प्रतिबद्धता व्यक्त गर्ने कार्यक्रम रहेको जनाइएको छ। चुनावी माहोल तातिरहेका बेला ओलीको यो घरदैलो अभियानलाई महत्वका साथ हेरिएको छ।




