राजनीति

निर्वाचन केन्द्रित मन्त्रिपरिषद् निर्णय : तीन दिन सार्वजनिक बिदा, जेनजी परिषद् गठन गर्ने

काठमाडौं । सरकारले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै फागुन २० देखि २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोग को सिफारिसमा उक्त निर्णय गरेको हो। प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते देशैभर हुँदैछ।

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्याल ले मतदान प्रक्रिया सहज, सुरक्षित र व्यवस्थित बनाउन तीन दिन सार्वजनिक बिदा दिइएको जानकारी दिए। बैठकले यससँगै जेनजी परिषद् गठन गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, निर्वाचन प्रयोजनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ।

ऊर्जा क्षेत्रमा महत्वपूर्ण मानिएको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। यस निर्णयले आयोजनाको कार्यान्वयन प्रक्रियालाई थप स्पष्टता दिने अपेक्षा गरिएको छ। यसबाहेक, काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश डा। दिवाकर भट्टलाई उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने निर्णय गरिएको छ। साथै, बीमा ऐन २०७९ अन्तर्गतका कसुरसम्बन्धी मुद्दा जिल्ला अदालतबाट हेर्ने व्यवस्था मिलाइएको छ।

मन्त्रिपरिषद्ले विक्रम संवत् २०८३ सालका लागि वार्षिक सार्वजनिक बिदा निर्धारण गर्ने निर्णयसमेत गरेको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *