काठमाडौं । बलरा नगरपालिकाका पूर्वमेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा औपचारिक रूपमा प्रवेश गरेका छन्। उनी दलबलसहित कांग्रेसमा समाहित भएका हुन्। पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा० मा सक्रिय रहेका सिंहलाई कांग्रेस सभापति गगनकुमार थापा ले औपचारिक कार्यक्रममार्फत पार्टीमा स्वागत गरेका छन्। सिंहको निवासमै आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय तथा जिल्ला स्तरका नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा कांग्रेस सर्लाहीका निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंहलगायत स्थानीय नेताहरू सहभागी थिए। पार्टी प्रवेशसँगै बलरा नगरपालिकाका पूर्व वडाध्यक्ष सुशील मिश्रासहित अन्य नेता–कार्यकर्ता पनि कांग्रेसमा समाहित भएका छन्। सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० बाट बलरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा भने उनी लोसपाबाट उम्मेदवार बने पनि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार रामाशंकर कुशवाहासँग पराजित भएका थिए।
पछिल्लो समय सर्लाही क्षेत्र नम्बर–४ लगायतका क्षेत्रमा विभिन्न दलका प्रभावशाली नेताहरू कांग्रेसमा प्रवेश गरिरहेका छन्। यसअघि पनि लोसपाका संविधानसभा सदस्य केदारनन्दन चौधरी, नेता मनिष मिश्रसहित दर्जनौँ नेता–कार्यकर्ता कांग्रेसमा समाहित भइसकेका छन्। यसरी अन्य दलका स्थानीय प्रभावशाली व्यक्तित्वहरू पार्टीमा भित्र्याउँदै कांग्रेसले सर्लाही क्षेत्रमा संगठन विस्तार र राजनीतिक आधार मजबुत बनाउने रणनीति अघि बढाएको देखिन्छ।




