काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधव सापकोटाले देश अहिले दुई प्रकारका अतिवादको चपेटामा परेको टिप्पणी गरेका छन्। बुधबार सिन्धुपाल्चोकमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले यी प्रवृत्तिबाट मुलुक जोगाउन नेकपालाई विजयी गराउनुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार एउटा अतिवाद यस्तो छ, जसले आलोचना र विरोध सहन सक्दैन। “विरोध बढ्यो भनेर सामाजिक सञ्जाल बन्द गर्ने र आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि समेत गोली चलाउने प्रवृत्ति देखिएको छ,” उनले भने।
सापकोटाले अर्को अतिवाद सामाजिक सञ्जालमै सीमित रहेर जनतालाई भड्काउने खालको रहेको आरोप लगाए। “जनतासँग प्रत्यक्ष संवाद नगरी अनलाइनबाटै उत्तेजना फैलाउने र भदौ २४ जस्तो विध्वंस मच्चाउने काम भइरहेको छ,” उनले उल्लेख गरे। सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत परिसरमा भएको आगजनीलाई उनले त्यही प्रवृत्तिको परिणाम भने।
उनले एकातिर निरंकुश प्रवृत्ति र अर्कोतिर विध्वंसकारी सोच हाबी भइरहेको भन्दै दुवैलाई परास्त गरी राष्ट्र र राष्ट्रियताको पक्षमा उभिने शक्तिलाई जिताउनुपर्ने धारणा राखे।




