काठमाडौं। काठमाडौं क्षेत्र नम्बर–५ का नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले एमाले सधैं देश निर्माणको पक्षमा उभिने राजनीतिक शक्ति भएको बताएका छन्।
टोखामा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले एमालेले विकास, स्थिरता र समृद्धिका लागि निरन्तर काम गर्दै आएको दाबी गरे। “एमाले देश बनाउने शक्ति हो, बिगार्ने काम गर्दैन,” उनले भने, “हामीले सधैं राष्ट्रहितलाई केन्द्रमा राखेर काम गरेका छौं।”
पोखरेलले कार्यकर्ता तथा समर्थकलाई जनताको घरदैलोमा पुगेर पार्टीका एजेन्डा स्पष्ट रूपमा राख्न आग्रह गरे। जनताका गुनासा, आलोचना र सुझावलाई सकारात्मक रूपमा लिँदै समाधानतर्फ अग्रसर हुने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
उनका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा देशलाई सही दिशामा अघि बढाउन एमालेको जित आवश्यक छ। उनले मतदातालाई विकास र स्थायित्वका लागि एमालेका उम्मेदवारलाई समर्थन गर्न आह्वान गरेका छन्।




