राजनीति

नेकपा (बहुमत)द्वारा फागुन ५ मा देशव्यापी हड्ताल घोषणा, सर्वपक्षीय सरकार गठनको माग

काठमाडौं । निर्वाचन प्रक्रियाको निरन्तर विरोध गर्दै आएको धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा ९बहुमत० ले फागुन ५ गतेका लागि देशव्यापी बन्द आह्वान गरेको छ । पार्टीले सोमबार सूचना जारी गर्दै सर्वपक्षीय सरकार गठनलगायत माग अघि सार्दै बन्दको कार्यक्रम सार्वजनिक गरेको हो ।

जारी वक्तव्यमा फागुन २१ गते तय गरिएको निर्वाचनलाई “साम्राज्यवादी योजनाअन्तर्गतको कथित निर्वाचन” भन्दै खारेज गर्नुपर्ने उल्लेख गरिएको छ । साथै वैदेशिक हस्तक्षेपको विरोध, राष्ट्रिय स्वाधीनताको रक्षा तथा संयुक्त स्वाधीन सरकार निर्माणको दिशामा दबाब सिर्जना गर्न बन्द आयोजना गरिएको जनाइएको छ ।

पार्टीले बन्द आह्वानका थप आधारहरू पनि प्रस्तुत गरेको छ । जनसंविधान निर्माण, भ्रष्टाचार र कालोबजारी अन्त्य, युवालाई स्वदेशमै रोजगारीको सुनिश्चितता, भूमिहीनलाई जमिन उपलब्ध गराउने व्यवस्था, साथै शिक्षा, स्वास्थ्य र यातायात निःशुल्क गरिनुपर्ने मागसमेत अघि सारिएको छ । बन्द कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण पक्षसँग सहयोगको अपिल गरिएको पार्टीले जनाएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *