काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वको समग्र विकासलाई केन्द्रमा राख्दै आफू प्रतिनिधिसभा उम्मेदवारका रूपमा अघि बढेको बताएका छन्।
रुकुम पूर्व अन्तर्गत पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङमा आयोजित जनभेटघाट कार्यक्रममा बोल्दै उनले विगतको राजनीतिक आन्दोलनपछि अब विकास र समृद्धिको एजेन्डा लिएर जनतामाझ आएको उल्लेख गरे।
“परिवर्तनका लागि बन्दुक बोकेर आएको यही भूमिमा यस पटक विकासको अभियानसहित उम्मेदवार बनेर आएको छु, तपाईंहरूको मत र समर्थन अपेक्षा गरेको छु,” उनले भने।
नेपाली कम्युनिस्ट पार्टी का संयोजकसमेत रहेका प्रचण्डले स्वाधीन र समृद्ध नेपाल निर्माण पार्टीको प्रमुख लक्ष्य रहेको स्पष्ट पारे। त्यस लक्ष्य प्राप्तिका लागि जनसहभागिता अपरिहार्य हुने उनको भनाइ थियो।
आफ्नो राजनीतिक आधारभूमिका जनताबाट नयाँ ऊर्जा र विश्वास लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले क्षेत्रीय विकास, पूर्वाधार विस्तार र जनजीविकाका सवाललाई प्राथमिकतामा राख्ने बताए।




