काठमाडौं । एक सातासम्म आफ्नो निर्वाचन क्षेत्र झापा ५ का मतदातालाई भेटेपछि एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौँ फर्किएका छन् । झापा ५ मा पर्ने कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिकाका मतदाताहरूसँग भेटेपछि ओली काठमाडौँ फर्किएका हुन् । उनले कमल गाउँपालिकाका सबै वडाका मतदाताहरूसँग भेटघाट गरेको निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले बताए । यस्तै गौरादह नगरपालिकामा पर्ने ८ वटा वडा र गौरिगञ्ज गाउँपालिकामा पर्ने ३ वटा वडा स्तरीय भेटघाट र छलफल सकेर ओली काठमाडौँ फर्किएका हुन् । यसअघि उनी माघ ५ गते निर्वाचन क्षेत्र आएका थिए ।
झापामा ओलीले दमक नगरपालिकाका वडा स्तरीय पार्टीका कमिटीका पदाधिकारी सदस्यहरूसँग छलफल गरेका थिए । ओली झापा आएसँगै ओलीले सार्वजनिक मञ्चमा भन्दा अनौपचारिक कार्यक्रममा समय बिताएका थिए । उनले भेटघाटका क्रममा मतदाता र शुभेच्छुकहरूसँग भन्ने ‘झापालाई मैले मत लिने मात्र ठाउँको रूपमा कहिल्यै सोचिनँ, सुख(दुःखमा जहिल्यै झापालीसँगै रहेँ।’ओली झापामा बसेसँगै हामी झापाली अभियान सुरु भएको छ । यस क्षेत्रका क्याफे, होटल रेष्टुरेन्टहरुमा हामी झापालीका स्टिकर टाँसिएको छ ।
ओलीको फेसबुक पेजमा समेत ‘हामी झापाली’ अभियान सुरु भएको छ । उनलाई फलो गर्दै उनका शुभेच्छुक र मतदाताले समेत सामाजिक सञ्जालमा हामी झापाली अभियान सुरु गरेका छन् । यस्तै राजावादी पार्टी राप्रपाका अध्यक्ष तथा झापा(३ का उम्मेदवार राजेन्द्रप्रसाद लिङ्देन पनि काठमाडौँ फर्किएका छन् । चुनावी प्रचारका लागि केही दिनदेखि निर्वाचन क्षेत्रमा रहेका उनी आज दिउँसो काठमाडौँ आएका हुन् । अध्यक्ष लिङ्देन श्री एअर को एसएचए(९४२ उडानमार्फत पौने ४ बजे त्रिभुवन विमानस्थल ओर्लिएको बताइएको छ ।
एमाले अध्यक्ष तथा क्षेत्र नम्बर ५ का उम्मेदवार केपी शर्मा ओली पनि काठमाडौँ फर्किएका छन् । उनी दिउँसो पौने ३ बजे यती एअरको जहाजमा आएका हुन् ।




