राजनीति

रुपन्देही–१ मा रास्वपामा दरारः उम्मेदवार चयन विवादपछि डा. श्री कुँवर पार्टीबाट बाहिरिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र उम्मेदवार चयन प्रक्रियालाई लिएर असन्तुष्टि सतहमा आएको छ। रुपन्देही क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका डा. श्री कुँवरले पार्टी परित्याग गरेका छन्।

कुँवरका अनुसार पार्टीले घोषित गरेको प्राइमरी इलेक्सन प्रक्रिया नअपनाई उम्मेदवार तय गरेपछि आफू पार्टीबाट अलग भएको हो। उक्त क्षेत्रमा छ जनाको नाम सिफारिस भए पनि अन्ततः सुनिल लम्साललाई उम्मेदवार बनाइएको थियो। लम्साल काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका पूर्व सल्लाहकार हुन्।

प्राइमरी इलेक्सनका नाममा उम्मेदवार आकांक्षीबाट रकम असुलिए पनि प्रक्रिया नचलाइएको भन्दै कुँवरले पार्टीमाथि गम्भीर आरोप लगाएका छन्। उनका अनुसार प्रत्यक्षतर्फ २५ हजार र समानुपातिकमा नाम राखिदिने भन्दै ५० हजार रुपैयाँ शुल्क लिने व्यवस्था “भ्रष्टाचारको नयाँ शैली” हो।

“म अमेरिकामा बसोबास गरिरहेको थिएँ। पार्टी नेताहरूको आग्रहमा नेपाल आएर उम्मेदवारी सिफारिससम्म पुगेँ। प्राइमरी इलेक्सन हुन्छ भन्ने भरोसामा दुई लाखभन्दा बढी खर्च गरें, तर प्रक्रिया नै भएन,” कुँवरले बताए। रास्वपाले विदेशमा रहेका नेपालीको भावना प्रयोग गरेको र उनीहरूलाई धोका दिएको आरोप पनि उनले लगाए।
उनले अब पार्टी नेतृत्वका कुनै व्यक्तिको आग्रह आए पनि रास्वपामा नफर्किने स्पष्ट पारेका छन्।

कुँवरको असन्तुष्टि सार्वजनिक हुनुअघि नै रास्वपाका नेता प्रणयशमशेर राणाले पनि उम्मेदवार छनोटमा आर्थिक अपारदर्शिता भएको आरोप लगाएका थिए। काठमाडौँ–५ बाट अघिल्लोपटक उम्मेदवार बनेका राणाले प्रारम्भिक निर्वाचन प्रक्रिया नअपनाइएको भन्दै तिरेको शुल्क फिर्ता गर्न माग गरेका थिए।

लगातार उठिरहेका यस्ता प्रश्नले रास्वपाको आन्तरिक पारदर्शिता र उम्मेदवार छनोट प्रणालीबारे बहसलाई थप चर्काएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *