राजनीति

संघीयता बलियो बनाउन तीन तहकै सरकारले महत्वपूर्ण जिम्मेवारी खेल्न आवश्यक : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संघीय शासन प्रणाली कार्यान्वयनमा गम्भीर कमजोरी देखिएको बताएका छन्। उनले संघीय संरचना संविधानमा स्थापित भए पनि व्यवहारमा केन्द्र सरकारको सोच र कार्यशैली परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन्।

मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सिटौलाले सरकार जुनसुकै दलको नेतृत्वमा बने पनि संघीयताको मूल मर्मअनुसार काम हुन नसकेको बताए। उनका अनुसार प्रदेश र स्थानीय तह आज पनि केन्द्रको अधीनस्थ जस्तै अवस्थामा छन्।

“संविधानले अधिकार दिएको भए पनि प्रदेश सरकारले ती अधिकार प्रयोग गर्न सकेका छैनन्,” सिटौलाले भने, “अझ अनुसूचीमा गरिएको अधिकार बाँडफाँटमै व्यावहारिक समस्या छन्, जसले संघीयता प्रभावकारी बन्न दिइरहेको छैन।”कतिपय स्थानमा भने प्रदेश सरकारभन्दा स्थानीय तहले तुलनात्मक रूपमा राम्रो काम गरेको उदाहरण देखिएको सिटौलाको भनाइ थियो। यसले संघीय संरचनाभित्रको असन्तुलन झनै प्रस्ट पारेको उनले बताए।

संघीयताको प्रभावकारी कार्यान्वयनका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाले मिलेर साझा दृष्टिकोण निर्माण गर्न आवश्यक रहेकोमा उनले जोड दिए। “दुवै सदनको साझा समझदारीबिना संघीयता बलियो हुँदैन,” उनले भने। बैठकमा अन्तरतह विधायिकी अन्तरसम्बन्धसम्बन्धी भ्रमणको समीक्षा र त्यसबाट तयार पारिएको मस्यौदा प्रतिवेदनमाथि समेत छलफल गरिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *