काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा आठ जना नेतालाई संगठनबाट हटाएको छ। प्रत्यक्षतर्फको प्रतिनिधि सभा निर्वाचनमा पार्टीले तोकेको आधिकारिक उम्मेदवारको विपक्षमा उम्मेदवारी दिएपछि उनीहरूमाथि कारबाही गरिएको हो।
पार्टी संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवले बुधबार संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा पूर्व खानेपानी मन्त्री प्रदीप यादवसहित आठ जनालाई पार्टीबाट निष्काशन गरिएको स्पष्ट गरिएको छ। विज्ञप्तिअनुसार उनीहरूले पार्टीको नीति, निर्णय र विधानको उल्लङ्घन गर्दै संगठनको हितविपरीत गतिविधि गरेको ठहर गरिएको छ।
जसपा नेपालका अनुसार निर्वाचनजस्तो संवेदनशील घडीमा पार्टी निर्णय अवज्ञा गर्दै स्वतन्त्र वा प्रतिस्पर्धी उम्मेदवारका रूपमा उत्रिनु संगठनात्मक अनुशासनमाथिको गम्भीर आघात हो। त्यसैले पार्टीले कठोर निर्णय लिनु परेको उल्लेख गरिएको छ।
पार्टीबाट निष्काशन गरिएका नेताहरूमा पूर्वमन्त्री प्रदीप यादवसहित चन्दन कुमार सिंह, आत्माराम साह, कमरुल्लाह अन्सारी, उदयकान्त मिश्र, हरिनारायण यादव, नवल किशोर सिंह र डा। शिवजी यादव रहेका छन्। जसपा नेपालले आगामी दिनमा पार्टी नीति र निर्णयविरुद्ध जाने प्रवृत्तिमाथि अझ कडाइ गरिने संकेतसमेत दिएको छ।
_NEVhtuxTzG.jpg)




