मुख्य समाचार

संसद पुनःस्थापनाको मागसहित निवर्तमान कांग्रेस सांसद सर्वोच्च जाने तयारीमा

काठमाडौं । संसद् विघटनविरुद्ध दायर रिटमा लामो समयसम्म पेसी नतोकिएको भन्दै नेपाली कांग्रेसका निवर्तमान सांसदहरू सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन्। काठमाडौंमा रहेका निवर्तमान सांसदहरूसँगै अदालत पुगेर न्यायालयको ध्यानाकर्षण गराउने योजना रहेको संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार अहिले सर्वोच्चमा थुप्रै रिट दर्ता भइसके पनि संसद् पुनःस्थापनासँग सम्बन्धित मुद्दामा अहिलेसम्म सुनुवाइको मिति तय हुन सकेको छैन। “चुनाव नजिकिँदै गएको अवस्थामा पनि मुद्दा अनिर्णीत रहनु गम्भीर विषय हो,” उनले भने, “त्यसैले अदालतलाई निर्वाचनअघि नै फैसला गर्न दबाब दिन हामी जान लागेका हौँ।”

उनले न्याय प्रणालीप्रति नागरिकको विश्वास कायम राख्न अदालतले स्पष्ट सन्देश दिन आवश्यक रहेको पनि बताए। “न्याय मरेको छैन भन्ने अनुभूति अदालतले जनतालाई गराउनुपर्छ,” घिमिरेको भनाइ छ।

काठमाडौंमा रहेका निवर्तमान सांसदहरूलाई सहभागी हुन आह्वान गरिएको जनाउँदै उनले केही नेता भने चुनावी अभियानका कारण जिल्लातर्फ गएको उल्लेख गरे। “जे निर्णय आए पनि हामी स्वीकार गर्न तयार छौँ, तर फैसला समयमै हुनुपर्छ,” उनले जोड दिए।

घिमिरेका अनुसार एमालेसँग पनि संयुक्त रूपमा जानेबारे सामान्य छलफल भए पनि उनीहरू जाने वा नजाने भन्नेबारे औपचारिक जवाफ प्राप्त भइसकेको छैन। जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेका थिए। संसद् विघटनपछि फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *