मुख्य समाचार

जेन–जी हिंसाको ‘फेस’लाई टिकटः मोरङ क्षेत्र नम्बर २ बाट कृष्णकुमार कार्की रास्वपाबाट उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘नयाँ राजनीति’ र ‘सुशासन’ को नारा दिँदै आएको बेला उसकै निर्णयले गम्भीर प्रश्न जन्माएको छ। गत भदौ २४ गते काठमाडौंमा भएको जेन–जी आन्दोलनका क्रममा संसद् भवनभित्र प्रवेश गरी तोडफोड र आगजनीमा संलग्न रहेको खुलेका व्यक्तिलाई रास्वपाले आगामी प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनाएको तथ्य सार्वजनिक भएको हो। फागुन २१ गते हुने निर्वाचनका लागि रास्वपाले मोरङ क्षेत्र नम्बर २ बाट कृष्णकुमार कार्कीलाई उम्मेदवार बनाएको छ। कार्की भदौ २४ गते नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छिरेर विध्वंश मच्चाउने समूहका अग्रपंक्तिका व्यक्तिमध्ये एक रहेको प्रमाण सामाजिक सञ्जालमै देखिन्छ।

मोरङको रतुवामाई नगरपालिका–९ का स्थायी बासिन्दा कार्की लामो समय वैदेशिक रोजगारीका लागि जापानमा बसेर केही समयअघि नेपाल फर्किएका व्यक्ति हुन्। उनले आफैं सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिर र स्टाटसमा संसद् भवनभित्र कुर्सी थुपारेर आगो लगाइएको दृश्य स्पष्ट देखिन्छ। भदौ २५ गते फेसबुकमा लेख्दै उनले संसद् भवनभित्र आगजनी गरेको मात्र होइन, नेताहरूको घरसम्म पुगेर आगो लगाइएको स्वीकार गरेका छन्। उनको स्टाटसमा लेखिएको छ, “हामी संसद् भवन प्रवेश गर्‍यौं, भित्र पुराना कुर्सी जम्मा गरेर आगो बाल्यौं र खुशी मनायौं। नेताको घर नै हाम्रो टार्गेट थियो।” बालाजुदेखि सिंहदरबारसम्म भएको विध्वंशको जिम्मेवारी जेन–जीले लिने उल्लेखसमेत उनले गरेका छन्।

चासोको विषय के छ भने, आज जुन पार्टीको टिकट लिएर कार्की चुनावी मैदानमा उत्रिएका छन्, केही महिना अघिसम्म उनी त्यही पार्टी र नेतृत्वका कट्टर आलोचक थिए। जापानमा रहँदा उनले रास्वपा सभापति रवि लामिछानेलाई ‘अमेरिकी’ र ‘सहकारी ठग’ भन्दै सामाजिक सञ्जालमा आक्रामक टिप्पणी गर्दै आएका थिए। गत अप्रिल १ मा उनले लेखेका थिए, “सोझा जनतालाई भ्रम छरेर सहकारी ठगी गर्ने अमेरिकीलाई म टुलुटुलु हेरेर बस्दिन।” संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि पनि उनले लामिछानेलाई लक्षित गर्दै, “जनावरबाहेक सबैले दोषी ठहर गरिसकेका छन्” भन्ने टिप्पणी गरेका थिए। अझै अघि बढ्दै उनले आफू शक्ति पाए रवि लामिछानेसहित सहकारी ठगीमा संलग्न सबैलाई एउटै जेलमा हाल्ने चेतावनीसमेत दिएका थिए।

कार्कीको आलोचना रास्वपाको शीर्ष नेतृत्वमा मात्र सीमित थिएन। उनले उपसभामुख इन्दिरा राना मगरमाथि समेत मानव तस्करीको आरोप लगाउँदै रास्वपा पुराना दलहरूकै शैलीमा लुटतन्त्रमा लागेको दाबी गरेका थिए। मोरङ–२ मा यसअघि रास्वपाबाट ठगेन्द्र न्यौपाने उम्मेदवार हुने चर्चा थियो र स्थानीय तहमा उनको नामलाई लिएर तयारीसमेत देखिन्थ्यो। तर अन्तिम समयमा कार्कीले टिकट पाएपछि पार्टीभित्रै असन्तुष्टि चुलिएको छ। स्थानीय कार्यकर्ताहरूले हिंसात्मक गतिविधिमा संलग्न व्यक्ति उम्मेदवार बनाइनु पार्टीको घोषित मूल्य र सिद्धान्तसँग मेल नखाने टिप्पणी गर्न थालेका छन्।

संसद् भवनभित्र आगजनी र तोडफोड स्वीकार गर्ने व्यक्ति उम्मेदवार बन्नु केवल एउटा दलको आन्तरिक विषय मात्र होइन, लोकतान्त्रिक मूल्य, विधिको शासन र राजनीतिक उत्तरदायित्वसँग जोडिएको गम्भीर प्रश्न बनेको छ। ‘नयाँ राजनीति’को दाबी गर्ने दलले हिंसाको अतीत बोकेका पात्रलाई अघि सार्नुले रास्वपाको राजनीतिक विश्वसनीयतामाथि नै प्रश्नचिह्न खडा गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *