राजनीति

दमकबाट उठ्यो बालेनको चुनावी अभियानमाथि गम्भीर प्रश्न, मेयर थापाको आरोपले माहोल तात्यो

काठमाडौं । झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन साहको चुनावी अभियान सुरु नहुँदै विवादको घेरामा परेको छ। दमक नगरपालिकाका मेयर राम थापाले सार्वजनिक रूपमा उठाएको आरोपपछि बालेनको विगतको भूमिका र हालको चुनावी गतिविधिमाथि गम्भीर प्रश्न खडा भएका छन्।

मेयर थापाले दुई वर्षअघि भदौ २४ गते भएको विध्वंशात्मक घटनामा संलग्न व्यक्तिहरू अहिले बालेनको चुनावी अभियानसँग जोडिएको दाबी गरेका छन्। सो दिन काठमाडौंसहित दमकमा पनि सरकारी संरचना, राजनीतिक दलका कार्यालय, निजी घर तथा व्यवसायिक प्रतिष्ठानमाथि आगजनी र तोडफोड भएको थियो। दमक नगरपालिकाको कार्यालय, वडा कार्यालय र मेयर थापाको निजी निवाससमेत जलाइएको थियो।

थापाका अनुसार, उक्त विध्वंशमा संलग्न केही व्यक्तिहरूले अहिले बालेनका लागि कार्यालय राख्न घर भाडामा दिएका छन्। “जसले मेरो घर जलाए, आज तिनै मानिसले बालेनलाई कार्यालय राख्न दिएका छन्, अनि उल्टै भ्रम फैलाइँदैछ,” थापाले आक्रोश व्यक्त गरेका छन्। उनको भनाइले बालेनको चुनावी नैतिकता र राजनीतिक जवाफदेहितामाथि प्रश्न उठाएको छ।

यसअघि पनि बालेनमाथि जेनजी आन्दोलनका नाममा भएका हिंसात्मक गतिविधिमा अप्रत्यक्ष संलग्नता रहेको आरोप लाग्दै आएको छ। सिंहदरबार जलाइदिने धम्की दिएको अभिव्यक्ति र त्यसपछिका घटनाबारे उनले अहिलेसम्म स्पष्ट जवाफ नदिएको भन्दै आलोचकहरू थप आक्रामक देखिएका छन्।

विवाद यतिमै सीमित रहेन। उम्मेदवारी मनोनयनका क्रममा बालेनको जुलुसले निर्वाचन अधिकृतको कार्यालय बाहिर धक्कामुक्की र नाराबाजी गरेपछि सामाजिक सञ्जालमा समेत उनको व्यवहारप्रति आलोचना चर्किएको छ। भावी प्रधानमन्त्रीको उम्मेदवार भनिएका व्यक्तिबाट यस्तो आचरण अपेक्षित नभएको टिप्पणी स्थानीय बुद्धिजीवी र राजनीतिक वृत्तबाट आएको छ।

निर्वाचन आचारसंहिता विपरीत अर्को पार्टी र उम्मेदवारविरुद्ध नाराबाजी गरिएको भन्दै बालेन नेतृत्वको रास्वपामाथि पनि राजनीतिक अपरिपक्वताको आरोप लागेको छ। सो क्रममा दमक बजारमा केही समय तनावको अवस्था समेत सिर्जना भएको थियो।

यद्यपि बालेनको पक्षमा जनलहर रहेको दाबी गरिए पनि मनोनयन जुलुसमा देखिएको भीडबारे फरक मूल्याङ्कन हुन थालेको छ। स्थानीयहरूका अनुसार जुलुसमा देखिएका धेरै अनुहार काठमाडौं, विराटनगर, जनकपुरलगायत बाहिरी जिल्लाबाट आएका थिए। कतिपय स्थानीय भने केवल हेर्नकै लागि जुलुसमा मिसिएको बताइन्छ।

झापाका एक राजनीतिक विश्लेषक भन्छन्, “हिजोको भीडले चुनावको नतिजा तय हुँदैन। वास्तविक जनमत एक साताभित्र स्पष्ट हुँदै जान्छ।”

दमक मेयरको आरोप, विगतका विवाद र चुनावी गतिविधिमा देखिएको असहजताले बालेनको झापा अभियानलाई रक्षात्मक बनाउने संकेत देखिन थालेको छ। अब उनले यी आरोपहरूको कसरी जवाफ दिन्छन् र मतदाताको विश्वास कसरी जित्छन् भन्ने कुराले झापा–५ को चुनावी समीकरण निर्णायक मोडमा पुर्‍याउने देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *