राजनीति

महोत्तरी क्षेत्र–१ बाट कांग्रेसबाट डा. काफ्ले चुनावी मैदानमा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले महोत्तरी जिल्लाका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार चयन प्रक्रिया टुंगो लगाएको छ। पार्टीले महोत्तरी क्षेत्र नम्बर–१ बाट डा. मुकेशराज काफ्लेलाई उम्मेदवार बनाएको छ । कांग्रेस संसदीय बोर्डको निर्णयअनुसार डा.काफ्ले महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा अघि बढाइएका हुन्। नेपाल विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक रहेका काफ्ले प्रजातान्त्रिक इन्जिनियरहरूको संस्था अध्यक्षसमेत हुन्। उनी पुल्चोक इन्जिनियरिङ क्याम्पसमा प्राध्यापकका रूपमा पनि कार्यरत थिए ।

काफ्ले लामो समयदेखि महोत्तरी–१ केन्द्रित राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका थिए। पार्टीभित्र उनी विकासमुखी र प्राविधिक पृष्ठभूमिका उम्मेदवारका रूपमा चिनिन्छन्। कांग्रेसले महोत्तरीका चार निर्वाचन क्षेत्रमध्ये हालसम्म तीन क्षेत्रमा उम्मेदवार तय गरिसकेको छ। पार्टीका अनुसार क्षेत्र नम्बर–२ बाट किरण यादव र क्षेत्र नम्बर–३ बाट बजरङ्ग नेपालीलाई उम्मेदवार बनाइएको छ।

२०७९ सालको निर्वाचनमा कांग्रेसले महोत्तरी–१ मा तत्कालीन नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल, क्षेत्र–२ मा लोकतान्त्रिक समाजवादी पार्टीका शरतसिंह भण्डारी र क्षेत्र–३ मा महन्त ठाकुरलाई समर्थन गरेको थियो। तर यसपटक कांग्रेसले महोत्तरीका चारवटै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाउने रणनीति लिएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *