मुख्य समाचार

कांग्रेस विवाद चर्किँदा निर्वाचन आयोग वरिपरि सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौं। नेपाली कांग्रेस विभाजनपछि आधिकारिकताको दाबी दुवै पक्षबाट निर्वाचन आयोगमा परेसँगै आयोग परिसरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। नेताहरू तथा कार्यकर्ताको बाक्लो आवतजावत सुरु भएपछि आयोग क्षेत्रलाई संवेदनशील रूपमा हेर्दै सुरक्षा सतर्कता बढाइएको हो।

आसन्न निर्वाचनको तयारीका क्रममा आयोग परिसरमा सामान्यभन्दा बढी चहलपहल भइरहेकै बेला कांग्रेसका दुई प्रतिस्पर्धी समूह सक्रिय भएपछि मुख्यद्वारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सम्भावित अवाञ्छित गतिविधि नियन्त्रणका लागि आयोग बाहिर ‘वाटर क्यानन’ पनि तयारी अवस्थामा राखिएको छ।

शेरबहादुर देउवा नेतृत्वको कांग्रेस र गगन थापा नेतृत्वको कांग्रेसका प्रतिनिधिहरू आजै आयोग पुगेर आ–आफ्नो पक्षबाट आधिकारिकताको दाबी पेश गरिसकेका छन्। यसक्रममा केहीबेरअघि गगन थापा समूहका कार्यकर्ताहरूले आयोग परिसरमा धर्ना दिएका थिए।

त्यसपछि देउवा पक्षका नेता–कार्यकर्ता पनि आयोग क्षेत्रमा जम्मा भएका छन्। तरुण दलका अध्यक्ष विद्वान गुरुङसहित देउवा नेतृत्वको समूहले समेत धर्ना सुरु गरेपछि आयोग परिसर तनावपूर्ण बनेको छ। प्रशासनले दुवै पक्षलाई संयमित रहन आग्रह गर्दै कुनै अप्रिय घटना हुन नदिन सुरक्षा निगरानी थप कडा बनाएको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *