काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रतिनिधिहरूलाई झुठो आश्वासन दिएर विधान विपरीत विशेष महाधिवेशन आयोजनामा संलग्न रहेको बताए ।
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खड्काले महामन्त्रीहरूले प्रतिनिधिहरूमा भ्रम फैलाएको बताएका छन्। उनले भने, “महामन्त्रीहरूले प्रतिनिधिहरूलाई भनिदिए—‘पार्टी फुट्न थाल्यो भने म हलबाट निस्किने गर्छु’। तर, यो केवल झुठो आश्वासन मात्र थियो। अन्ततः उनीहरूले नयाँ नेतृत्वको नाममा पार्टीलाई बिखण्डनको बाटोमा धकेले।” यस्तै अर्का महामन्त्री गगन थापाले कुनै पनि हालतमा पार्टी नफुट्ने,पार्टी फुट्ने संभावना भए विष पिएर भए पनि पार्टीलाई जोगाउने घोषणा गरेका थिए ,तर उनीहरुले पार्टी फुटाएर कांग्रेसभित्र विवाद ल्याए ।
खड्काले विशेष महाधिवेशनको कदम पार्टी एकता र विधानविपरीत भएको बताउँदै, यसले कांग्रेसको स्थायित्वलाई ठूलो चुनौती दिएको बताए। उनले महामन्त्रीहरूको भ्रमपूर्ण प्रचार र गलत आश्वासनले प्रतिनिधिहरूको निर्णयलाई प्रभावित गरेको पनि बताए ।
कार्यवाहक सभापति खड्काले पार्टी एकताको पक्षमा आफू दृढ रहेको र भविष्यमा पनि विधानको रक्षा गर्दै पार्टीलाई विभाजनबाट जोगाउने प्रतिबद्धता जनाएका छन्।




