राजनीति

रास्वपाको संगठन विस्तारमा बालेन–घिसिङ समूहको प्रवेश, चार पदाधिकारी थप्ने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी एकीकरण र संगठन विस्तारलाई औपचारिक रूप दिन चार जना पदाधिकारी थप गर्ने निर्णय गरेको छ। आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले यससम्बन्धी निर्णय पारित गरेको हो।

पार्टी स्रोतका अनुसार थपिने चार पदाधिकारी बालेन शाह र कुलमान घिसिङ समूहको भागमा पर्नेछन्। यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र ऊर्जामन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग पार्टी एकीकरण तथा विस्तारसम्बन्धी सात बुँदे सहमति गरेको थियो। सोही सहमति कार्यान्वयनको क्रममा पदाधिकारी थप गर्ने निर्णय गरिएको हो।

सहमति अनुसार रास्वपा र बालेन–घिसिङ समूहबीच ६०–४० प्रतिशतको अनुपातमा संगठनात्मक समायोजन गरिएको स्रोतले जनाएको छ। “६० प्रतिशत रास्वपाको हिस्सामा र ४० प्रतिशत बालेन समूहलाई दिने सहमति भएको छ। सोही आधारमा चार पदाधिकारी थप गर्ने र तिनीहरूको छनोटको जिम्मेवारी बालेन शाहलाई दिइएको छ,” स्रोतले बतायो।

यसअघि नै उपसभापति पद कुलमान घिसिङलाई दिने सहमति भइसकेको बताइएको छ। पार्टी प्रवक्ता मनिष झाले पार्टी एकीकरण एवं विस्तारसम्बन्धी सम्झौताहरू कार्यान्वयन गर्न पार्टी विधान संशोधनमार्फत पदाधिकारी थप्ने निर्णय गरिएको जानकारी दिए।

थप गरिएका पदाधिकारीमा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र एक सहप्रवक्ता रहनेछन्। रास्वपाले यो निर्णयलाई पार्टी एकताको औपचारिक संरचना निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *