राजनीति

गणतन्त्र जोगाउन दलहरूबीच सहकार्यको संकेत, कांग्रेस–एमाले–नेकपाबीच संवाद तीव्र

काठमाडौं । सत्तारूढ तथा प्रमुख राजनीतिक दलहरूबीच आगामी निर्वाचनमा सहकार्यको सम्भावना बढ्दै गएको संकेत देखिएको छ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले गणतन्त्र पक्षधर दलहरू एकै ठाउँमा उभिएर चुनावमा जाने विषयमा आन्तरिक छलफल अघि बढिरहेको बताएका छन्।

आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टले कांग्रेस, एमाले र नेकपा मिलेर निर्वाचनमा जाने सम्भावनाबारे नेतृत्व तहमा संवाद भइरहेको उल्लेख गरे। “नेताहरूबीच सम्पर्क बढेको छ, छलफल चलिरहेको छ,” उनले भने, “राजनीतिमा सम्भावनालाई पूर्ण रूपमा नकार्न सकिँदैन।”

उनका अनुसार एमालेको प्राथमिकता गणतन्त्र र संविधानको रक्षा गर्नु हो। त्यसका लागि समान धारणा राख्ने दलहरूबीच सहकार्य आवश्यक रहेको निष्कर्षमा पार्टी पुगेको उनले बताए।

यसै सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच आइतबार भेटवार्ता भएको छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको भेटमा आगामी निर्वाचनको वातावरण र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल केन्द्रित रहेको जानकारी दिइएको छ।

नेकपा संयोजक दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार भेटवार्तामा देशको राजनीतिक स्थायित्व र निर्वाचनलाई सहज बनाउने विषयमा विचार–विमर्श भएको थियो।

दलहरूबीच बढ्दो संवादले आगामी दिनमा नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो बन्दै गएको संकेत दिएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *