राजनीति

इतिहास र संघर्षलाई मेटाउने भ्रम सोसल मिडियामा नफैलाउन प्रचण्डको चेतावनी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल र सहरबजारमा फैलिरहेको भ्रमप्रति चिन्ता व्यक्त गरेका छन्। उनी भन्छन्, यस्तो देखिन्छ कि देशको नियन्त्रण निष्ठाविहीन र विचारविहीनहरूले नै कब्जा गरिसकेका छन्।

रुकुमपूर्वदेखि काठमाडौँसम्म जारी केशव रावलको सम्मान यात्रा समापन समारोहमा प्रचण्डले सामाजिक सञ्जालमा भइरहेको चर्चा र सहरबजारका प्रतिक्रिया सम्बन्धमा धारणा राख्दै भने, “सामाजिक सञ्जाल हेर्छौ, सहरबजारमा हुने हल्ला सुन्छौ, त त्याग, तपस्या, इतिहास र निष्ठामा आधारित कामलाई बेवास्ता गर्दै, निष्ठाविहीनहरूले नेपाल कब्जा गरेको जस्तो लाग्छ।”

उनले आफ्नो टिप्पणीमा इतिहास र संघर्षको महत्त्वलाई स्मरण गराउँदै भने, “दशकौंको संघर्ष र बलिदानले निर्माण गरेको कीर्तिमानलाई बेवास्ता गर्दै सोसल मिडियामा होहल्ला गर्नेहरूलाई मुक्तिदाता ठान्नु ठिक छैन। बजार र मोबाइलमा देखिएको दृश्यले मानिसमा भ्रम पैदा गरिरहेको छ।”

प्रचण्डको यस भनाइले सामाजिक सञ्जालको प्रभाव र वर्तमान राजनीतिक सोचबीचको अन्तराल उजागर गरेको छ। उनका अनुसार वास्तविक नेतृत्व र योगदानको मूल्यांकन भोलिका पुस्ताले गर्नुपर्ने हो, अहिलेका हल्ला र भ्रममा नपर्ने चेतावनी उनले दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *