काठमाडौं । नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको बन्दसूची निर्वाचन आयोगमा दर्ता गराएको छ। पार्टी केन्द्रीय सदस्य निरज आचार्यले आयोगमा पुगेर सूची बुझाएका हुन्। दर्ता गरिएको सूचीमा पार्टी नेतृत्व तहका स्थापित अनुहारदेखि नयाँ पुस्तासम्मलाई समेटिएको छ। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, सचिव पद्मा अर्यालसहित जेन–जी पुस्ताकी निताता घतानी पनि सूचीमा अटाएकी छन्। नयाँ अनुहारका रूपमा क्रान्ति बुर्लाकोटी र भूमिका सुब्बालगायतको नाम समावेश गरिएको छ।
त्यसैगरी लेखा आयोगका अध्यक्ष डा. पुष्प कडेल, स्थायी कमिटीका पूर्व सदस्य गोरखबहादुर बोगटी तथा पुराना नेतामध्ये रामेछापका राजकुमार श्रेष्ठ पनि बन्दसूचीमा परेका छन्। टुका हमाल, निरु पाल, कोमल ओली, शान्ता चौधरी र अनिता कन्दङ्वा समेत सूचीमा समेटिएका छन्। पिछडिएको क्षेत्रबाट गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावलसहित आठ जनाले प्रतिनिधित्व पाएका छन्। अपाङ्गता भएका समुदायबाट स्याङ्जाका रामबहादुर थापा र यसुदा बराल चयन भएका छन्।
दलित समुदायतर्फ मिना बराम, मनकुमारी तितुङ, मायादेवी पौडेल, निर्मल दउला र जितु गौतमलगायतका नाम छन् भने अल्पसंख्यक समूहबाट रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ र इच्छा चौधरी समावेश भएका छन्। पार्टीका अनुसार केही नाम सच्याउनुपर्ने तथा क्लस्टर मिलान गर्न बाँकी रहेकाले सम्पूर्ण सूची सार्वजनिक नगरी गोप्य राखिएको छ।




