काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंले हालै भएको रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीचको सहमतिप्रति कडा प्रतिक्रिया जनाएका छन्। उनले उक्त सहमतालाई राजनीतिक समझदारीभन्दा बढी सत्ता केन्द्रित सौदाबाजीको संज्ञा दिएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रसाईंले देशलाई व्यक्तिगत स्वार्थअनुसार बाँडफाँड गर्ने प्रवृत्ति राजनीतिभन्दा व्यापारजस्तै देखिएको टिप्पणी गरेका हुन्। उनले सहकारी पीडित करिब ७० लाख नागरिकको न्यायको सवाल किन राजनीतिक एजेन्डाबाट बाहिर परेको भन्दै प्रश्न उठाएका छन्।
गएराति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेन शाहबीच बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार मानेर आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएको थियो। यही सहमतिलाई लक्षित गर्दै प्रसाईंले आपत्ति जनाएका हुन्।उनले भागबण्डामा आधारित राजनीतिले देशको भविष्य सुरक्षित नहुने दाबी गर्दै देश निर्माणका लागि नैतिकता र चरित्र आवश्यक पर्ने बताएका छन्। “देश कुर्सीको लेनदेनबाट होइन, जनताको निर्णयबाट चल्नुपर्छ,” भन्दै उनले व्यक्ति वा दलभन्दा माथि उठेर प्रणाली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
प्रसाईंले देशको वास्तविक हित चाहने हो भने ढिलाइ नगरी जनमत संग्रहको बाटो अपनाउनुपर्ने सुझाव पनि दिएका छन्। उनका अनुसार देश कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी हो।




