काठमाडौं । सरकारले नागरिकता सम्बन्धी कानुनी व्यवस्थामा थप सुधार गर्दै नागरिकता चौथो संशोधन नियमावलीलाई स्वीकृत गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्णयबारे जानकारी दिँदै हरेक वर्ष पुस १५ गतेलाई ‘राष्ट्रिय च्याउ दिवस’ का रूपमा मनाउने निर्णय पनि भएको बताए। यसले च्याउ उत्पादन, व्यवसाय र किसानको प्रोत्साहनमा टेवा पुग्ने सरकारको अपेक्षा छ।
मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीसम्बन्धी व्यवस्थामा पनि केही सहजीकरण गरेको छ। मन्त्री खरेलका अनुसार इराकमा कामका लागि भिसा लिएका नेपाली नागरिक नेपाल फर्कँदा रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन दिएमा श्रम स्वीकृति प्रदान गर्न सकिने व्यवस्था मिलाइएको छ।
यसैगरी, जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी पुरानो निदेशिका खारेज गर्ने निर्णय पनि भएको छ। सरकारका अनुसार यसले नयाँ नीतिगत व्यवस्थाका लागि बाटो खुल्नेछ।
बैठकले प्रशासनिक पहुँच विस्तार गर्ने उद्देश्यले देशका विभिन्न ९ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णयसमेत गरेको मन्त्री खरेलले जानकारी दिए।




