मुख्य समाचार

नेकपा (माओवादी) सरकारसँग किन आक्रोशित ?

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रहरी परिचालनलाई लिएर सरकारप्रति कडा असन्तुष्टि जनाउँदै संघर्षको चेतावनी दिएका छन्। उनले सरकार आफ्नो पार्टीलाई निर्वाचन प्रक्रियाबाट टाढा राखेर द्वन्द्वतर्फ धकेल्न खोजिरहेको आरोप लगाए।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विप्लवले कपिलवस्तु र अर्घाखाँचीमा रहेका पार्टीका श्रम शिविर तथा केन्द्रीय कम्युनमा प्रहरीले अपरेशन चलाएकोप्रति आपत्ति जनाए। उनले उक्त कदम गलत भएको दाबी गर्दै तत्काल प्रहरी फिर्ता नबोलाइए सरकारविरुद्ध कडा आन्दोलनमा उत्रिने चेतावनी दिए।

“हामी शान्तिपूर्ण ढंगले निर्वाचनमा सहभागी हुन खोजिरहेका छौँ,” उनले भने, “तर केन्द्रीय कम्युनमै प्रहरी पठाएर सरकारले चुनाव चाहेको हो कि युद्ध, स्पष्ट गर्नुपर्छ।” उनले अपरेशनका विषयमा सरकारले माफी नमागे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिए।

विप्लवले विगतका घटनाको स्मरण गराउँदै अहिलेको अवस्थाले फेरि द्वन्द्व जन्माउने षड्यन्त्र भइरहेको संकेत गरेको दाबी गरे। “यदि हाम्रो इमान्दार प्रयासलाई गलत ढंगले व्याख्या गरियो भने त्यसको जिम्मेवारी सरकार आफैंले लिनुपर्नेछ,” उनको भनाइ थियो।

यसैबीच, पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्माले पनि प्रहरीको छापामारीले देशलाई अस्थिरतातर्फ धकेल्ने खतरा रहेको बताए। उनका अनुसार अर्घाखाँचीको सितगङ्गा–११ मा रहेको पार्टी कम्युन र सर्वसाधारणका घरमा प्रहरीले छापा मार्दा स्थानीयवासीमा त्रास फैलिएको छ।

सरकारले एकातिर शान्तिपूर्ण निर्वाचनको कुरा गर्ने र अर्कोतिर पार्टीका गतिविधि केन्द्र तथा नागरिकका घरमा छापा मार्नु विरोधाभासपूर्ण भएको विश्वकर्माको आरोप छ। उनले यस प्रकारका गतिविधिले राज्य शान्तिपूर्ण समाधानभन्दा अशान्तितर्फ उन्मुख भएको सन्देश दिएको बताए।

प्रहरीको छापामारी र दमनबारे निष्पक्ष छानबिन गर्न मानवअधिकारकर्मी र सरोकारवाला निकायलाई माओवादीले आग्रहसमेत गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *