काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच आगामी निर्वाचनलाई केन्द्रमा राखेर भएको छलफलमा पूर्व स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि सहभागी भएका छन्।
बिहीबार ललितपुरको ज्वागलस्थित बालेन शाहका सहयोगी कुमार बेनको निवासमा दुई नेताबीच वान–टु–वान छलफल चलिरहँदा सिंह त्यहाँ पुगेका हुन्। नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरूलाई एउटै मोर्चामा ल्याउने प्रयासस्वरूप वार्ता भइरहेको स्रोतको भनाइ छ। छलफल चलिरहँदा बाहिरको दृश्य भने थप रोचक बनेको छ। जेन–जी अभियन्ता सुदन गुरुङले दुई नेतामाथि एकजुट हुन सार्वजनिक दबाब सिर्जना गर्ने उद्देश्यले घरको मुख्य गेटमै ताला लगाइदिएका थिए । बालेन र रविबारे चर्चा बाहिर आएको बेला सर्वदलिय सरकार गठन र संसद स्थापनाका विषयमा छलफल भएको पनि स्रोतले जनाएका छन् । नेपाली कांग्रेसका नेता सुनिल शर्माले संसद् पुनर्स्थापनाको विषयमा छलफल भएको बताएका हुन् । आज रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह लगायतसँग भएको भेटपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा गुरुङले सहमति नजुटेसम्म गेट नखुल्ने अडान लिएका छन्। “दुवै नेता मिलेर मात्र बाहिर निस्कनुहुन्छ, नत्र गेट खुल्दैन,” भन्दै गुरुङले आफूहरू अस्थायी ‘गार्ड’ बनेर बसेको दाबी गरेका छन्। चाबी आफूहरूसँग सुरक्षित रहेको र जाडो, रात वा कुनै पनि परिस्थितिमा ताला नखोलिने उनको भनाइ छ।
भित्र राजनीतिक भविष्यको खाका कोरिँदै गर्दा बाहिर भने समर्थक, स्थानीय बासिन्दा र शुभेच्छुकहरूको भिड बढ्न थालेको छ। यसअघि पनि रवि लामिछाने र बालेन शाहबीच कमलपोखरीमा लामो छलफल भइसकेको थियो, जसलाई वैकल्पिक राजनीतितर्फको सम्भावित सहकार्यको संकेतका रूपमा हेरिएको छ। यो भेटघाटले केवल राजनीतिक संवाद मात्र होइन, सडकदेखि सामाजिक सञ्जालसम्म नयाँ किसिमको ‘दबाब राजनीति’लाई पनि चर्चामा ल्याएको छ।
रास्वपा सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँगको छलफल सकारात्मक भएको बताएका छन् । बिहीबार ललितपुरमा दुई नेताबिच छलफल भएको थियो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिहरू एक ठाउँमा आउने प्रयास स्वरूप उनीहरूबिच वार्ता भएको हो । वार्तामा जेनजी अभियन्ता सुदन गुरुङ, रक्षा बम,पुरुषोत्तम यादव सहभागी थिए । त्यस्तै उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ, निवर्तमान सांसद अमरेश कुमारसिंह, सुनिल शर्मा लगायत पनि सहभागी रहेको उनको भनाइ छ ।




