राजनीति

एलिजा गौतम पार्टी छोडेर आजपा प्रवेश

काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले डेढ महिनामै जनादेश पार्टी छोडेर आज आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छन्। आजपाको केन्द्रीय समिति बैठकमा भाग लिन पुगेकी गौतमलाई पार्टीले उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको स्रोतले जनाएको छ।

गत कात्तिकमा गठन भएको जनादेश पार्टीमा उनी उपाध्यक्षको रूपमा रहने चर्चा थियो, तर औपचारिक निर्णय कहिल्यै भएन। पार्टी नेतृत्वले बारम्बार विवादजनक घटनाका कारण उनलाई उपाध्यक्ष नबनाउने निर्णय गरेपछि एलिजा असन्तुष्ट बनेकी थिइन्। जनादेश पार्टीमा अहिले सभापतिबाहेक अरू कोही पदाधिकारी नभएका कारण गौतम केवल केन्द्रीय सदस्य मात्रै थिइन्।

जनादेश पार्टी र आजपाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि ‘मोबाइल’ चिन्हमा दर्ता गरिसकेका थिए। सुरुमा जनादेशको चुनाव चिन्ह भएको यो सहकार्यको बीच एलिजाले आजपामा प्रवेश गर्दै राजनीतिमा नयाँ दिशा लिएकी हुन्। आजपाको केन्द्रीय कमिटी बैठकमा उनलाई टिका, माला र खादा लगाएर औपचारिक स्वागत गरिएको छ।

गौतमले समाजसेवालाई निरन्तरता दिँदै राजनीतिक माध्यमबाट अझ सशक्त आवाज उठाउने उद्देश्यले आजपामा प्रवेश गरेको बताएकी छन्। उनले आजपाले उठाउँदै आएको नीति र विचार मुलुक तथा नेपाली जनताको हितमा रहेको भन्दै समाजको सेवा अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेकी छन्।

आजपामा नेपाली कांग्रेस निकट जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष तेजबहादुर कुम्हाल, सर्लाहीका नेता एवं पूर्वमुखिया रामबाबु साह, राष्ट्रिय मुक्ति पार्टीकी केन्द्रीय सदस्य ललिता चौधरी लगायतका नेताहरू पनि प्रवेश गरिसकेका छन्। आजपाको केन्द्रीय कमिटी बैठक प्रज्ञा भवनमा जारी छ। बैठकले उम्मेदवार छनोटको मापदण्ड लगायतका महत्वपूर्ण एजेन्डामा छलफल गर्ने जानकारी सचिवालय सदस्य बालकृष्ण सापकोटाले दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *