नुवाकोट । नेपाली कम्युनिस्ट पार्टी नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नं २ का लागि उम्मेदवार छनोट तथा सिफारिस बैठक सम्पन्न भएको छ । सुखद पाहुना घरमा सम्पन्न बैठकमा याेङ्ग कम्युनिस्ट लिग नेपालका पूर्व जिल्ला अध्यक्ष तथा बिदुर नगर पार्टी कमिटीका उपाध्यक्ष दिनेश बोगटीले आफ्नो उम्मेदवारी दाबी गरेका छन् ।
बैठकमा बोल्दै बोगटीले राजनीति सेवा भएको र व्यवसाय नभएको धारणा राख्दै राजनीति गरेर व्यक्तिगत स्वार्थ पूरा गर्ने होइन, समाज र देशका लागि केही गरेर देखाउने आफ्नो उद्देश्य रहेको बताए । लामो समयदेखि विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहँदै आएका उनले राजनीतिलाई जिम्मेवारी र सेवाको रूपमा लिएको स्पष्ट पारे ।
दिनेश बोगटी को हुन् ?
२०४२ सालमा नुवाकोटको तुप्चेमा जन्मिएका बोगटीले माओवादी जनयुद्धको समयमा पार्टीलाई सक्रिय रूपमा सहयोग गरेका थिए । नेकपा माओवादी केन्द्रअन्तर्गत विभिन्न संगठनमा काम गर्दै उनी याेङ्ग कम्युनिस्ट लिग नेपाल नुवाकोटका जिल्ला अध्यक्ष बनेका थिए भने हाल बिदुर नगर पार्टी कमिटीका उपाध्यक्ष रहेका छन् ।
लामो समय युवामाझ सक्रिय रहँदै आएका बोगटी जिल्लामा युवासँगको काम, संगठन निर्माण र सामाजिक गतिविधिमा लोकप्रिय मानिन्छन् । साथै, निर्माण व्यवसायको क्षेत्रमा समेत अघि बढ्दै आफ्नो पहिचान बनाउन सफल भएको उनका सहयोगीहरूले बताएका छन् ।
पार्टीभित्र उम्मेदवार सिफारिस प्रक्रिया जारी रहेको र अन्तिम निर्णय केन्द्रबाट हुने जनाइएको छ ।




