काठमाडौं । ‘जेनजी’ समूहले सोमबार आयोजना गर्न लागेको विरोध प्रदर्शनका लागि अनुमति माग्दै ढिलोगरी निवेदन बुझाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं आन्तरिक छलफलमा जुटेको छ। आन्दोलनको घोषणा अघिल्लो दिन नै गरिए पनि सोमबार बिहान मात्र औपचारिक निवेदन दर्ता भएकाले तत्काल अनुमति दिन कठिन देखिएको प्रशासनको भनाइ छ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार आन्दोलनका लागि आवश्यक प्रक्रिया समयमै पूरा नभएकाले के कस्तो निर्णय लिन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ। उनका अनुसार अनुमति दिने सम्भावना न्यून देखिए पनि अन्तिम निर्णय छलफलपछि मात्रै हुने छ। यसैबीच काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जेनजीका विभिन्न समूहबाट आन्दोलनको अनुमति माग गर्दै पत्र प्राप्त भएको जानकारी दिए। उनका अनुसार फरक–फरक नाममा निवेदन बुझाइएकाले त्यसलाई एकीकृत रूपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषय पनि छलफलको केन्द्रमा छ।
आइतबार नै आन्दोलनको घोषणा गरेको जेनजी समूहले सुरुमा अनुमति नलिई सडकमा उत्रिने अभिव्यक्ति दिएको थियो। तर सोमबार भने आन्दोलनका लागि अनुमति माग्दै प्रशासन कार्यालय पुगेका हुन्। ‘गरी खान देऊ’ अभियानका जेनजी अगुवा हरिश भट्टले प्रशासनसँग छलफल भइरहेको बताउँदै आन्दोलन शान्तिपूर्ण हुने दाबी गरे। उनले अनुमति नपाए पनि माइतीघरमा सीमित सहभागितासहित कार्यक्रम सुरु गरिने र क्रमशः उपस्थिति बढाइने बताए।
जेनजी समूहले सोमबार बिहान ११ बजेदेखि माइतीघरमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ।




