काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आगामी निर्वाचनमा अवरोध पुर्याउने प्रयत्न नगर्न जेन–जीहरूसँग चेतावनी दिएका छन्।
बुधबार ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मेयर महर्जनले स्पष्ट भने, “चुनाव हुन दिन्नँ भन्ने छुट जेन–जीलाई छैन।” उनले हालको निर्वाचन प्रक्रियामा सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।
महर्जनले भने, “सम्मानीय प्रधानमन्त्रीको सरकारको मुख्य काम फागुन २१ गते चुनाव सम्पन्न गराएर निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु हो। तर केही जेन–जीहरूले स्वर परिवर्तन गरेर चुनाव अवरुद्ध गर्न खोजिरहेको देखिन्छ। त्यो स्वीकार्य छैन।”
उक्त अवसरमा मेयर महर्जनले जेन–जीहरू सानै भएकाले पूर्ण बुद्धि पाइनसकेको उल्लेख गर्दै, उनीहरूलाई जिम्मेवार व्यवहार अपनाउन निर्देशन दिएका छन्। “उनीहरू साना भाइ–बहिनी जस्तो छन्, बुद्धि पलाओस्। आफ्नो आमाले गर्न खोजिरहेको काममा सहयोग गर्नैपर्छ,” उनले थपे।
आफ्नो दुई कार्यकालमा महानगरपालिकामा धेरै सकारात्मक परिवर्तन गरेको स्मरण गर्दै मेयर महर्जनले वर्तमानमा पनि दैनिक रूपमा नयाँ विकास कार्यहरू जारी रहेको जानकारी गराए।




