काठमाडौं । । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तिम चरणमा प्रवेश गर्दै गर्दा अध्यक्ष केपी शर्मा ओली पक्षमा पदाधिकारीका उम्मेदवार टुंग्याउने प्रयास तीव्र बनेको छ । सीमित पदमा धेरै आकांक्षी देखिएपछि ओली समूहभित्र सहमति जुटाउन कठिनाइ देखिएको हो ।
अध्यक्ष पदमा ओलीको उम्मेदवारी लगभग सुनिश्चित भए पनि उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायत पदमा कसले उम्मेदवारी दिने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । यही विषयमा अध्यक्ष ओलीसहित उनी निकट नेताहरू सोमबार बिहानदेखि निजी निवास गुन्डुमा आन्तरिक छलफलमा जुटेका छन् । छलफलपछि उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरिने बताइएको छ ।
यसैबीच, केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज उम्मेदवारी प्रक्रियासँग सम्बन्धित मुख्य कार्यक्रमहरू सञ्चालन हुँदैछन् । आयोग अध्यक्ष डा. विजय सुब्बाका अनुसार बिहान १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।
त्यसपछि बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूको दरखास्त फाराम दर्ता गर्ने समय तोकिएको छ । दरखास्त दर्ता सम्पन्न भएपछि दिउँसो २ः३० बजे प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ भने सो सूचीप्रति उजुरी दिने समय दिउँसो ३ बजेसम्म रहनेछ ।
सबै प्रक्रिया पूरा गरी आजै साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन तालिकामा उल्लेख छ । तालिकाअनुसार भोलि मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम तय गरिएको छ ।




