राजनीति

अब पार्टीभित्र चुनाव नलड्ने अष्टलक्ष्मी शाक्यको घोषणा

काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अब पार्टीभित्र कुनै पनि चुनाव नलड्ने घोषणा गरेकी छन् ।

भृकुटीमण्डपमा आइतबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उपाध्यक्ष शाक्यले भनिन्, ‘म अब चुनाव उठ्दिनँ । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ ।’

उनले विधि र विधानअनुसार पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिँदै नेताहरूलाई फराकिलो मन बनाउन आग्रह गरिन् । ‘पार्टीलाई नीति प्रधान बनाऔं, मुख्य कुरा विधि हो,’ उनले भनिन् ।

शाक्यले अध्यक्ष केपी शर्मा ओलीसँग भएको पुरानो कुरा स्मरण गरिन् । ‘मैले अध्यक्ष कमरेडसँग ७० वर्ष पुगेपछि काम गर्दिनँ भनेको थिएँ, उहाँले सँगै बिदा लिऔंला भन्नुभएको थियो’ उनले भनिन् ।

आफू नभई पार्टी नचल्ने सोचबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो । साथै, आम जनताको चासो र चाहनालाई ध्यानमा राखेर विधान संशोधनतर्फ लाग्न नहुने उनले बताइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *