राजनीति

विधान संशोधन नगर्ने एमालेको निर्णय,पद संरचना यथावत राख्ने

काठमाडौं । नेकपा (एमाले) ले धेरैले अपेक्षा गरेअनुसार विधान संशोधनमा जाने सम्भावना अस्वीकार गर्दै हालको व्यवस्थालाई यथावत राख्ने निर्णय गरेको छ। शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले विधान परिवर्तनको एजेन्डा औपचारिक रूपमा बन्द गरिएको जानकारी दिए।

एमालेले भदौ २०–२२ मा सम्पन्न विधान महाधिवेशनले पारित गरेको विधानलाई नै आगामी कार्यकालका लागि आधार बनाउने निर्णय गरेको हो। नेतृत्व संरचनामा फेरबदल गर्दै पदाधिकारी बढाउने चर्चा चलिरहेका बेला बैठकले त्यसलाई आवश्यक नदेखिएको निष्कर्ष निकालेको छ।

पारित विधानअनुसार पार्टीमा १५ पदाधिकारी रहने व्यवस्था छ– जसमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव समावेश छन्। आन्तरिक रूपमा पद संख्या बढाएर सन्तुलन मिलाउने प्रस्ताव दर्ता भए पनि बैठकले एकमतले ‘वर्तमान संरचनाले संगठन सञ्चालनका सबै आवश्यकता पूरा गर्ने’ ठहर गरेको छ।

बैठकपछि नेता ज्ञवालीले भने, “महाधिवेशनले पारित गरेको विधानलाई नै मार्गदर्शक बनाउने हाम्रो निर्णय हो। संगठनलाई प्रभावकारी र परिणाममुखी बनाउन संरचना भन्दा कार्यशैली सुधारमा ध्यान केन्द्रित गरिन्छ।”

यस निर्णयसँगै आगामी महाधिवेशनतर्फ अघि बढिरहेका एमालेभित्र पद विस्तारको चर्चा औपचारिक रूपमा टुंगिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *