राजनीति

कांग्रेस महामन्त्री थापा रोल्पाबाट सिफारिस्

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाउँदै रोल्पा निर्वाचन क्षेत्रबाट महामन्त्री गगन थापाको नाम सिफारिस गरेको छ। पार्टीको जिल्ला कार्यसमितिले मंगलबार बसेको बैठकमार्फत थापालाई प्रत्यक्षतर्फको सम्भावित उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको हो।

लुम्बिनी प्रदेश नेतृत्वको समन्वयमा भएको निर्णयअनुसार थापासँगै अन्य चार नेताको नाम पनि प्रत्यक्ष निर्वाचनका लागि केन्द्रमा पठाइनेछ। कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका स्वकीय सचिव अनुपम जीसीका अनुसार सिफारिस सूचीमा प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा. मन्दिप सुवेदी र ज्ञानबहादुर ओली रहेका छन्।

पार्टी स्रोतका अनुसार रोल्पामा कांग्रेस संगठनलाई थप सबल बनाउने र राष्ट्रिय स्तरका नेताको उपस्थितिबाट निर्वाचनमा बलियो सन्देश दिने उद्देश्यले बहुविकल्पीय सिफारिस गरिएको हो। अन्तिम निर्णय भने पार्टीको केन्द्रीय नेतृत्व र संसदीय बोर्डबाट हुने जनाइएको छ।

कांग्रेसले उम्मेदवार सिफारिसको औपचारिक प्रक्रिया अघि बढाएसँगै रोल्पाको राजनीतिक गतिविधि पनि तीव्र बनेको छ। आगामी निर्वाचनमा कसलाई अन्ततः टिकट दिइन्छ भन्ने चासो स्थानीयदेखि केन्द्रीय राजनीतिक वृत्तमा बढ्न थालेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *