काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौँ महाधिवेशनसँग सम्बन्धित अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा औपचारिक रूपमा बुझाएका छन्।
सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी कार्यालय पुगेर पोखरेलले आफ्ना समूहका नेताहरूको उपस्थितिमा उक्त अवधारणापत्र महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेका हुन्।
उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार पोखरेल समूहले तयार पारेको अवधारणापत्र नेतृत्व परिवर्तनको निष्कर्षसहित तयार गरिएको दस्तावेज हो। उक्त दस्तावेज आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी रहेको पनि उनले जानकारी दिए।
पार्टीको आगामी नेतृत्वबारे स्पष्ट धारणा प्रस्तुत गर्ने उद्देश्यले तयार पारिएको यस अवधारणापत्रलाई एमालेभित्रको राजनीतिक बहसलाई नयाँ दिशा दिने दस्तावेजका रूपमा हेरिएको छ।
ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटन र सुशीला कार्की नेतृत्वको सरकार गठन संविधानलाई कम क्षतिमा जोगाइराख्ने आपकालीन विकल्प थियो भन्ने निष्कर्ष समेत पेश गरेका छन् ।
सोमबार पार्टीको ११औँ महाधिवेशनमा बहसका लागि केन्द्रीय कार्यालयमा बुझाइएको अवधाराणा–पत्रमा अध्यक्ष केपी शर्मा ओलीमाथिको स्थानहद हटाउन माग समेत गरेका छन् । एमालेका गतिविधिमाथि सडकबाट नियन्त्रण गर्ने दुष्प्रयासहरू भइरहेको भन्दै निर्वाचनबाट अहिलेको राजनीतिक निकासको विकल्प खोज्नुपर्ने धाराणा अघि समेत उनले सारेका छन् । अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनस्स्थापनालाई निकासको विकल्प भनेका छन् ।




